पेरिस पारा ओलम्पिकका लागि एसियाली छनोटमा नेपालका पलेशा, अमिर र भरत सिंहले प्रतिस्पर्धा गर्ने

वाइल्ड कार्डको आश नगरी सिधै ओलम्पिक खेल्ने लक्ष्य
फाल्गुन २५, २०८० |प्रदीप लेखी
पेरिस पारा ओलम्पिकका लागि एसियाली छनोटमा नेपालका पलेशा, अमिर र भरत सिंहले प्रतिस्पर्धा गर्ने

काठमाडौं । २०२४ मा हुने पेरिस ओलम्पिकका लागि नेपाली पारा तेक्वान्दोबाट तीन खेलाडीले एसियाली छनोट प्रतियोगितामा सहभागिता जनाउँदै छन् । चाइनाको तायअन सिटीमा मार्च १५ देखि १७ तारिखसम्म हुने प्रतियोगितामा महिलातर्फ पलेशा गोवर्धन र पुरुषतर्फ अमिर ब्लोन र भरतसिंह महत्ताले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा छनोट भए उनीहरू सिधै पेरिस ओलम्पिक खेल्न पाउनेछन् । यदि छनोट नभए सहभागिताका लागि वाइल्डकार्ड छनोटको प्रतीक्षा गर्नुपर्ने हुन्छ ।

हरेक खेलाडीको सपना हुन्छ ओलम्पिकमा सहभागी भएर राष्ट्रका लागि पदक दिलाउने तर त्यो सपना सबैको पूरा हुँदैन । यही सपना साकार पार्न यसपालि नेपाली पारा तेक्वान्दोबाट तीन खेलाडी पेरिस ओलम्पिकका लागि एसियाली छनोटमा सहभागिता जनाउँदै छन् । महिलातर्फ सहभागी हुने पलेशा गोवर्धन यसअघिको टोकियो ओलम्पिकमा पनि सहभागी भएर पदक हात पार्नबाट झिनो अंकको अन्तरले चुकेकी थिइन् । उनी अमेरिका र सर्बियाका खेलाडीलाई हराएर चाइनासँग ड्र खेलेर दुई बाउट जितेको थियो ।

पलेशाको विश्व वरीयता सातौं स्थानमा छ । यदि छैटौं स्थानमा रहेको भए उनी सिधै ओलम्पिकमा सहभागिता जनाउन पाउने थिइन् । चीनकै सांघाईमा अध्ययन गरिरहेकी पलेशा राष्ट्रिय छनोट प्रतियोगिता खेल्न नेपाल आएकी थिइन् । उनी छनोट भएर पनि दुई महिना नेपालमै प्रशिक्षण गरेर सांघाई फर्किसकेकी छन् । अब उनी सिधै तायअनमै छनोट खेल्नेछिन् ।

‘टोकियो ओलम्पिक खेल्दा पलेशा १६ वर्षकी मात्र थिइन् । अहिले उनी २० वर्ष पुगिन् । त्यसैले उनमा अहिले म्याचुरिटी पनि देखिएको छ बलियो पनि छ । दिमाग लाएर खेल्ने गर्छिन् । यसका साथै थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव पनि उनले बटुलिसकेको हुँदा यसपालि आशा बढेको छ,’ पारा तेक्वान्दोका प्रशिक्षक कविराज नेगी लामाले भने, ‘तर सबैको मुख्य कुरा प्रशिक्षण र अभ्यास नै हो ।’ उनले अलि अगाडि चाइना पुगेर प्रशिक्षण गर्न र म्याच एक्सपोजर पाए पलेशाबाट धेरै आशा रहेको बताए ।

पलेशा र सिर्जना घिसिङलाई आफ्नो आइडल मान्दै आएका अमिर ब्लोन र भरतसिंह महत्ता अहिले सातदोबाटो तेक्वान्दो हलमा प्रशिक्षक कविराजकै प्रशिक्षणमा मिहिनेत गरिरहेका छन् । भरतसिंह सुदूरपश्चिमको दार्चुला जिल्लाको अपी-हिमाल गाउँपालिकामा पर्ने रिगुर धङतङको गरिब परिवारमा जन्मिए । जहाँ अहिलेसम्म मोटर पुग्नसकेको छैन । उनी जन्मिँदै बायाँ हातको आधा मात्रै लिएर जन्मिए । तर खेल भनेपछि सानैदेखि हुरुक्कै हुने उनको सपना थियो ।

एकदिन राष्ट्रिय खेलाडी बनेर देशलाई मेडल दिलाउने । स्कुल पढ्दै गर्दा भलिबल खेल्थे अहिले पनि उनी भलिबलको स्पाइकर हुन् तर अपाङ्ता भएकै कारण उनी पारा खेलको खोजीमा थिए । २०७३ सालमा पारा खेलाडी बन्न उनी काठमाडौं आए तर ह्वेलचेयर क्रिकेटबारे मात्रै थाहापाए पछि निराश भएर फर्किए । पछि युट्युबमा भेटे पारा तेक्वान्दो खेलेको फुटेज । त्यसलाई नै पछ्याउँदै महत्ता काठमाडौंसम्म आएर कविराजलाई भेटे र पारा तेक्वान्दो प्रशिक्षण गरे ।

तेक्वान्दोसँगै उनले गाईपालन पनि गरिरहेका छन् । कीर्तिपुरमा चारवटा गाई पालेर परिवार पालिरहेका महत्ताको उद्देश्य छ- छनोट भएर पारा ओलम्पिकमा सहभागी हुने र देशलाई मेडल दिलाउने । ‘अब मेरो सपना जसरी पनि अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई पदक जिताउने छ,’ पारा तेक्वान्दोका महत्ताले भने, ‘दैनिक बिहान ३ र बेलुका २ गरी ४ घण्टा प्रशिक्षण गरिरहेका छौं ।’

महत्ताजस्तै सपना बोकेर काठमाडौं आएका अमिर ब्लोन हेटौंडा मकवानपुरका हुन् । उनको पनि एउटा हातको आधा भाग मात्रै छ । निकै फुर्तिला ब्लोनको पनि देशलाई पदक दिलाउने सपना छ । यी दुवै खेलाडी बिहान ३ र बेलुका गरी दैनिक पाँच घण्टा अभ्यास गर्छन् । गुरु नेगी लामालाई उनीहरू गडफादरका रुपमा हेर्ने गर्छन् । खुट्टा समाएर सिकाउँदै यहाँसम्म मात्र पुर्याएका छैनन् । उनकै कारण संघबाट भत्ता पाइरहेका छन् ।

‘सुरुमा पारा तेक्वान्दो भनेको केही थाहा थिएन । लकडाउनका बेला गाउँमै पढिरहेको थिएँ । सिर्जना घिसिङ, रामहरू खेलेको थाहा भएर उनीहरूसँग सम्पर्क गरे । त्यसपछि बल्ल थाहा भयो कि पारा तेक्वान्दो भनेको शारीरिक रुपमा अपांगता भएको व्यक्तिले खेल्ने तेक्वान्दो खेल हो भनेर । उनीहरूकै प्रेरणाले तेक्वान्दोमा लागियो र नेगी गुरुको सहयोगबाट यहाँसम्म आइपुगेको हो,’ पारा तेक्वान्दोका अमिरले कान्तिपुर टेलिभिजनसँग भने, ‘देशका लागि मेडल दिलाउने सपना छ । सोही सपना पूरा गर्न लागिपरेको छु । नेगी गुरु हाम्रा लागि गड फादर हो । उहाँले नै हात र खुट्टा समाएर सिकाएको र यहाँसम्म ल्याइपुर्याएको हो । सुरुमा त विश्वासै लगेको थिएन कि यहाँसम्म आइपुग्छु भनेर ।’

पारा खेलाडीलाई राखेपका राष्ट्रिय टिम तयारी समितिका संयोजक दीपक विष्टले पनि डाइट (खानाको खुराक) र आर्थिक सहयोग गर्ने विश्वास दिलाउँदा उनीहरूमा थप हौसला जागेको छ ।

‘पारा तेक्वान्दोको प्रशिक्षण र सहभागिताका लागि राखेपको राष्ट्रिय टोली तयारी समिति संयोजक दीपक विष्टले डाइट र टिकेटिङजस्ता कुरामा सहयोग गरिरहनुभएको छ । यसले हामीलाई हौसला जागेको छ,’ पारा तेक्वान्दोका प्रशिक्षक कविराजले भने ।

‘बक्सिङ टिम पनि एसियन छनोट खेल्न गएको छ । उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्ले सहयोग गरेको छ । पारा तेक्वान्दोलाई हामी डाइटिङ र टिकेटिङका लागि सहयोग गर्ने बताएको छु,’ राष्ट्रिय टिम तयारी समितिका संयोजक दीपक विष्टले भने ।

छनोट प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै पलेशा गोवर्धन ५७ केजी मुनिको तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् । अमिर ब्लोन ६३ केजीमुनि र भरतसिंह ५८ केजी मुनिको तौल समूहमा सहभागिता जनाउनेछन् । ओलम्पिकसम्म पुगेको पारा तेक्वान्दो खेलाडी जति मिहिनेत गरिरहेका छन् त्यस अनुसारको उनीहरू म्याच एक्सपोजर पाउँदैनन् । त्यसैले संघले यी खेलको धेरैभन्दा धेरै राष्ट्रिय प्रतियोगिता गराउन जरुरी देखिन्छ ।


Image

प्रदीप लेखी

लेखी कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।