प्रधानमन्त्री कपमा एपीएफको प्रदर्शन, गुम्यो एलिट कप खेल्ने अवसर

माघ २१, २०८० |सविना कार्की
प्रधानमन्त्री कपमा एपीएफको प्रदर्शन, गुम्यो एलिट कप खेल्ने अवसर

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको छैटौं संस्करण नेपाल पुलिस क्लब विजेता बनेसँगै सकिएको छ । पुलिस र त्रिभुवन आर्मी क्लबले फाइनल खेल्दा अर्को विभागीय टोली एपीएफले भने शीर्ष चारमा समेत स्थान बनाउन सकेन । जसका कारण उसले पहिलोपटक आयोजना गर्न लागिएको एलिट कप खेल्ने अवसर पनि गुमाएको छ ।

राष्ट्रिय टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले प्रशिक्षकका रुपमा डेब्यु गरेको प्रतियोगितामा एपीएफ बलिङमा कमजोर देखियो । कप्तान रोहित पौडेल भन्छन्, ‘सिनियर खेलाडी जिम्मेवारी लिनबाट चुक्यौं ।’

तीव्र गतिका बलर कमलसिंह ऐरी चोटग्रस्त बनेपछि एपीएफलाई प्रतियोगिता अगाडि नै धक्का लागेको थियो । तर राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोहितको आगमन र ज्ञानेन्द्र मल्ल प्रशिक्षक बनेसँगै एपीएफ उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रियो । योसँगै राष्ट्रिय टिमका पूर्वकप्तान ज्ञानेन्द्रले प्रशिक्षकका रुपमा डेब्यु गरे ।

बागमती प्रदेशलाई ८९ रनले पराजित गर्दै प्रतियोगिताको सुरुवात गरेको एपीएफले निराशाजनक अन्त्य गर्‍यो । प्रतियोगिता चलिरहँदा बलर अविनाश बोहोरा घाइते भए भने एपीएफलाई उछिन्दै बागमती र मधेश प्रदेशले शीर्ष चारमा स्थान सुरक्षित गरे । एपीएफको एलिट कप खेल्ने सपनामा कर्णाली प्रदेशले ब्रेक लगाइदियो । लिगको अन्तिम खेलमा कर्णालीसँग २१ रनले हारेपछि एपीएफको रातो बलले खेल्ने सपना अधुरो रहेको हो ।

पाँचौं स्थानमा रहेर लिग टुंग्याएको एपीएफले नौमध्ये पाँच खेलमा जित हात पार्‍यो । जसमा मधेशविरुद्ध सर्वाधिक ४४६ रन बनायो । रोहितले कुल २७३ रन जोड्दा चार अर्धशतक बनाए । एपीएफका लागि एक मात्र शतक सन्दीप जोराले बागमतीसँग ११२ रनको इनिङ्स खेले । भुवन कार्की तथा रमेश कुर्मीको प्रदर्शन सन्तोषजनक नै रह्यो । टिमले अपेक्षा गरेअनुसारको प्रदर्शन नगरे पनि ज्ञानेन्द्रका लागि भने यो प्रतियोगिता प्रशिक्षण करिअरका लागि महत्त्वपूर्ण मानिएको छ ।

क्रिकेट संघ (क्यान) ले पहिलोपटक नेपाल ‘ए’ टिम निर्माण गर्दै छ । प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गर्ने र अन्डर नाइन्टिन टिमबाट खेलाडी छनोट गरिनेछ । ज्ञानेन्द्र ‘ए’ टिमका प्रशिक्षक दाबेदारमध्येका एक हुन् । प्रधानमन्त्री कप सकिएसँगै रोहित तथा सिनियर टिमका अन्य खेलाडी अब राष्ट्रिय टिमको प्रतियोगितामा फर्कनेछन् ।


Image

सविना कार्की

कार्की कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।