पाँच विकेट लिएँ तर टिमले नजित्दा नराम्रो फिल भयो : सुवास भण्डारी

माघ १९, २०८० |सविना कार्की
पाँच विकेट लिएँ तर टिमले नजित्दा नराम्रो फिल भयो : सुवास भण्डारी

काठमाडौं । आईसीसी अन्डर नाइन्टिन विश्वकपअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भयो । १ सय ७० रनको लक्ष्य पछ्याएको बंगलादेश पाँच विकेटले विजयी भयो । बंगलादेशका ती पाँचै विकेट स्पिनर सुवास भण्डारीले लिएका हुन् । समूह चरणमा अफगानिस्तानविरुद्ध सुवासले नै म्याच फिनिस गरेपछि नेपालले सुपर सिक्समा स्थान बनाएको थियो ।

आईसीसी अन्डर नाइन्टिन विश्वकपअन्तर्गत सुपरसिक्सको पहिलो खेलमा बुधबार नेपालले बंगलादेशसँग टस जितेर पहिले ब्याटिङ गरेको थियो । ४९ ओभर १ बलमा सबै विकेट गुमाएर जगत् टमाटाको टिमले १ सय ६९ रनको मध्यम योगफल बनायो । जसमा विशालविक्रम केसीले सर्वाधिक ४८ रन जोडे । जारी विश्वकपमा विशालले खेलेको यो पहिलो खेल हो । 

कप्तान देव खनालले ३५ रन जोडे । सिनियर टिमका अनुभवी खेलाडी गुल्सन झा केबल ३ रनमा पवेलियन फर्किएका थिए । कुनै पनि खेलाडीबीच गतिलो साझेदारी नभएपछि नेपाल प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गर्न असफल भयो । जवाफमा बंगलादेशले आक्रामक सुरुवात गर्‍यो । आसिकुर रहमान सिब्ली र जिसान आलमले पहिलो विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए ।

१२ औं ओभरमा स्पिनर सुवास भण्डारीले १६ रन बनाएका सिब्लीलाई क्याच आउट गर्दै नेपाललाई ब्रेक थ्रु दिलाए । अन्य चार विकेट पनि उनकै नाममा रह्यो । पाँच विकेट लिए पनि टिमलाई जित दिलाउन नसक्दा सुवास त्यति खुसी देखिएनन् । ‘मैले पाँच विकेट लिन पाएँ,’ सुवासले भने, ‘तर त्यो पाँच विकेटले रिजल्ट दिन सकेन । त्यसकारण हल्का नराम्रो महसुस गरिराखेको छु ।’

सुवासले ८ ओभर बल फाल्दै पाँच विकेट लिँदा ४४ रन खर्चिएका थिए । जारी विश्वकपमा नेपालका लागि पाँच विकेट लिने उनी दोस्रो खेलाडी हुन् । अफगानिस्तानसँग मिडियम पेसर आकाश चन्दले पाँच विकेट हात पारेका थिए । बागलुङमा जन्मिएका सुवासले भारतमा क्रिकेट खेल्न सिकेका हुन् । परिवारसँगै भारतमा बस्ने सुवासले २०१४ को विश्वकप हेरेपछि नेपालमा क्रिकेट खेलिन्छ भन्ने थाहा पाएर आएका हुन् ।

२०१९ देखि घरेलु प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गरिरहेका सुवास पोखरामा अभ्यास गर्छन् । खर्च जुटाउनकै लागि केही समय उनी स्कुलमा क्रिकेट प्रशिक्षक पनि बने । विश्वकप छनोट खेल्ने टिममा परेसँगै काम छोडेका उनलाई गण्डकी प्रदेश टिमका प्रशिक्षक रिजन प्रजुसहितले आर्थिक रूपमा पनि सहयोग गरिरहेका छन् ।

आज सुपर सिक्सको दोस्रो खेलमा नेपालले भारतको सामना गर्दै छ । सुवास पहिलो खेलको उत्साहसाथ मैदान उत्रने तयारीमा छन् । जारी विश्वकपका चार खेलमा नौ विकेट लिइसकेका छन् । उनको सपना अब सिनियर टिमबाट खेल्ने हो । जसलाई जारी विश्वकपमा गरेको प्रदर्शनले सहयोग गर्न सक्छ । 


Image

सविना कार्की

कार्की कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।