मिडफिल्डर कुशल देउवा भन्छन्- ए डिभिजन लिग खेल्न चाहन्छु

पुस २७, २०८० |सविना कार्की
मिडफिल्डर कुशल देउवा भन्छन्- ए डिभिजन लिग खेल्न चाहन्छु

काठमाडौं । नेपाल सुपर लिगको दोस्रो संस्करण सकिएको दुई साताभन्दा बढी भइसक्यो । तर, यो फ्रेन्चाइज लिगबाट उदाएका युवा खेलाडीको चर्चा भने सकिएको छैन । च्याम्पियन बनेको ललितपुर सिटी एफसीमा ट्यालेन्ट हन्टबाट छनोट भएका मिडफिल्डर कुशल देउवा हुन् । उनी भन्छन्- ए डिभिजन लिग खेल्न चाहन्छु ।

कुशल देउवाले गत असोजमा घरेलु मैदानमै भएको अन्डर-नाइन्टिन साफ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरेका थिए । साफमा नेपाल सेमिफाइनलमा भारतसँग रोकियो । कुशल भने केही हदसम्म आफ्नो प्रभाव छाड्न सफल भए । तर सुपर लिगको अक्सनमा नाम दर्ता गराउन भने मापदण्ड पुगेन ।

कुशल, विदेशी खेलाडी र टिमसँग अभ्यासको अवसर पाइन्छ कि भनेर काठमाडौं आएका थिए । सुदूरपश्चिमको कञ्चनपुरका कुशलबाट ट्रायलको पहिलो दिनै विदेशी प्रशिक्षक इयान गिलाई प्रभावित भए । क्लबले उनलाई राख्ने निर्णय गर्‍यो ।

सुपर लिगका सुरुवाती सात खेलसम्म कुशलले धैर्य गरे । आठौं चरणमा काठमाडौं रेजर्सविरुद्ध कुशलले ७९औं मिनेटमा मैदान प्रवेश गर्ने अवसर पाए ।

त्यसो त कुशलले लिगमा सुरुवाती एघारमा खेल्ने मौका त पाएनन, तर सब्सिच्युट खेलाडीका रुपमा जति समय मैदानमा बिताए, प्रशिक्षकको विश्वासमा खरो उत्रिए । दोस्रो क्वालिफायरमा पोखरा थन्डर्सलाई अतिरिक्त समयमा दुई-एक गोलले पराजित गर्दा निर्णायक गोल कुशलको नै रह्यो ।

ललितपुरका प्रशिक्षक इयानले, क्वालिफायरमा पोखरासँगको खेलपछि कुशल नेपाली फुटबलको भविष्य रहेको भन्दै प्रशंसा गरेका थिए । व्यावसायिक फुटबलर बन्ने लक्ष्य राखेका कुशलले ए डिभिजन लिग खेल्न चाहेका छन् ।

क्रिकेट हाबी भएको क्षेत्रबाट फुटबल रोजेका कुशललाई परिवारको राम्रो साथ छ । कुशल करियरको प्रारम्भिक चरणमै छन् । अगाडिको यात्रा उनकै प्रदर्शन र अनुशासनमा निर्भर रहनेछ । 


Image

सविना कार्की

कार्की कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।