इतिहासकै खराब अवस्थामा कसरी पुग्यो एन्फा ?

आफैँ प्रायोजक खोज्न नसक्ने एन्फा, फिफा र एएफसीकै बजेटमा आश्रित
न वार्षिक क्यालेन्डर छ न खेलाडी विकासका योजना
पुस २४, २०८० |सविना कार्की|प्रदीप लेखी
इतिहासकै खराब अवस्थामा कसरी पुग्यो एन्फा ?

काठमाडौं । प्रतियोगिता आयोजनाका हिसाबले अखिल नेपाल फुटबल संघ, एन्फा इतिहासकै खराब अवस्थामा छ । आफैँ प्रायोजक खोज्न नसक्ने एन्फा, फिफा र एएफसीकै बजेटमा आश्रित छ । त्यही बजेटमा पनि अनियमितता भएको पाइएपछि एएफसी र फिफाले कडाइ गरेका छन्, जसका कारण एन्फाले उमेर समूहका प्रतियोगिता वर्षौंसम्म आयोजना गरेको छैन भने नियमितरुपमा गर्ने लिग समेत हुन छाडेको छ । ऊसँग अहिले न वार्षिक क्यालेन्डर छ न खेलाडी विकासका योजना ।

साढे दुई वर्षअघि चल्दा चल्दैको महिला लिग रोकियो । दुई वर्षयता सहिद स्मारक बी डिभिजन र सी डिभिजन लिग सञ्चालन हुन सकेको छैनन् । क्लब र एन्फाको विवादबीच आठ महिनाअघि ए डिभिजन लिग सकियो, तर अब कहिले हुने अत्तोपत्तो छैन । 

महिलाको उमेर समूहको प्रतियोगिता नै नभएको आधा दशक पुग्न लागिसकेको छ । तर नेपाली फुटबलको प्रशासनिक निकाय अखिल नेपाल फुटबल संघ, एन्फाको नेतृत्व विवाद, अपारदर्शिता र आसेपासेलाई विदेश भ्रमणमा लैजाने काममै मस्त छ । वार्षिक क्यालेन्डरसमेत बनाउन नसक्ने एन्फाकै कारण फुटबलमा लागेका खेलाडीको भविष्यसमेत अन्धकारमा धकेलिइरहेको छ ।

खेलकुदका कार्यक्रम सञ्चालनका लागि वार्षिक कार्यतालिका चाहिन्छ । त्यसैका आधारमा खेलाडीले आफूलाई तयार राख्छन् । तर एन्फाले कार्यक्रम दिन नसक्दा खेलाडी मात्र नभएर प्रशिक्षक, रेफ्री, क्लब पनि अन्योलमा छन् । एन्फा बैठकले बी र सी डिभिजन तथा महिला लिगजस्ता मुख्य प्रतियोगिताको मिति तोक्ने जिम्मेवारी सचिवालयलाई दिएको छ । तर सचिवालयले अहिलेसम्म काम सुरु नै गर्न सकेको छैन । एन्फा नेतृत्वको कार्यक्षमतालाई लिएर कार्य समिति भित्रै प्रश्न उठिरहेको छ ।

कार्यक्रम नै तय गर्न नसक्दा एन्फाले एएफसी र फिफासँग बजेट माग्न सकेको छैन । कन्ट्रोल फन्डिङको समस्या देखाएर जिम्मेवारीबाट पन्छिने एन्फा नेतृत्वले घरेलु प्रतियोगिताका लागि प्रायोजक खोज्न सकेको छैन । विश्वकप छनोट र अन्तर्राष्ट्रिय प्रतियोगितालाई मात्र एन्फाले आफ्नो कार्यक्रममा राखेको छ ।

अन्य खेलको तुलनामा विश्वका धेरै मानिसले हेर्ने खेल हो फुटबल । नेपालमा पनि यो खेलका धेरै दर्शक र समर्थक छन् । तर एन्फाले प्रतियोगिता नै सञ्चालन गर्न नसक्दा घरेलु समर्थकले प्रतियोगिता हेर्न पाएका छैनन् भने फुटबल खेलाडीहरू पनि पलायन हुने क्रम बढेको छ । 


Image

सविना कार्की

कार्की कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।

Image

प्रदीप लेखी

लेखी कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।