आयुष पनि विदेश पलायन हुने त हैनन् ?

पुस १६, २०८० |सविना कार्की
आयुष पनि विदेश पलायन हुने त हैनन् ?

काठमाडौं । सुरुमा कमजोर ठानिएको पोखरा थन्डर्सले दोस्रो संस्करणको नेपाल सुपर लिगमा क्वालिफायरसम्मको यात्रा तय गर्‍यो । उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थानमा लिग टुङ्ग्याएको  पोखराले नक आउटमा भने सोही लयलाई कायम राख्न सकेन । तर पोखराको प्रदर्शनबाट समर्थक खुसी नै भए । किनकि उनीहरूले लिग सुरु हुनुअघि पोखराबाट यति राम्रो प्रदर्शनको अपेक्षा गरेकै थिएनन् । 

टिमसँगै युवा खेलाडी आयुष घलानले पनि आफ्नो प्रदर्शनबाट सबैको मन जिते । अघिल्लो सिजन ट्यालेन्ट हन्टबाट छानेको पोखराले यसपटक उनलाई टिमकै मार्की प्लेयर बनायो । राष्ट्रिय टिममा पनि आफ्नो प्रभाव जमाइरहेका आयुष स्वदेशमै बसेर फुटबल खेल्छन् या विदेश पलायन हुन्छन् ? यसको जवाफ भने उनीसँग छैन । 

खुमलटारबाट सन् २०२१ को बी डिभिजन लिग खेलेका आयुष छोटो समयमै राष्ट्रिय टिमको मुख्य सदस्य बनिसकेका छन् । त्यसको सुरुवात नेपाल सुपर लिगबाटै भएको हो । अघिल्लो संस्करण पोखराले उनलाई ट्यालेन्ट हन्टबाट टिममा भित्र्यायो । उनको प्रदर्शनबाट तत्कालीन प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी प्रभावित भए । राष्ट्रिय टिममा बोलाए । विश्वकप छनोटअन्तर्गत अस्ट्रेलियासँगको खेलमा डेब्यु पाए । त्यसयता उनी नियमित सिनियर टिममा छन् । यो पटक त २० वर्षीय आयुषलाई पोखराले मार्की प्लेयरनै बनायो । पोखरासँग जोडिनु नै आफ्नो करियरको टर्निङ पोइन्ट मान्छन् आयुष ।

आयुष बल कन्ट्रोलमा निकै अब्बल मानिन्छिन् । उनको डि्रबलिङले जो कोहीलाई पनि मोहित बनाउँछ । पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पराजित पोखरा दोस्रो अवसरमा च्याम्पियन बनेको ललितपुर सिटीसँग चुक्यो । प्रशिक्षक नवीन न्यौपाने र कप्तान दिनेश राजवंशी आयुषको प्रदर्शनबाट खुसी छन् ।

यो सिजन आयुषले दुई गोल गरे । पहिलो क्वालिफायरमा धनगढीविरुद्ध सुरुवाती अग्रता दिलाए पनि पेनाल्टीमा चुके । यसमा उनी दुःखी छन् । तर यसबाट ठूलो पाठ सिकेको उनको बुझाइ छ । नेपाली फुटबलको भविष्यको रूपमा हेरिएका आयुष आफ्नो भविष्य खेलमै देख्छन् त ?

खेलेरै बाँच्न सक्ने अवस्था नभएको भन्दै प्रतिभावान् खेलाडी बिदेसिने क्रम जारी रहँदा आयुष पनि जाने पो हुन् कि भन्ने चिन्ता समर्थकमा छ ।

भारतमा व्यावसायिक फुटबल खेल्ने कुरा पनि चलिरहेको छ । तर अहिले त्यो प्रारम्भिक चरणमा नै भएको उनले सुनाए । आयुषको काँधमा टिमको मात्र होइन परिवारको पनि जिम्मेवारी छ । धेरै खेलाडी गुमाइसकेको एन्फाले अब चाहिँ आयुष र उनीजस्ता खेलाडीलाई फुटबल खेलेरै बाँच्न सक्ने वातावरण बनाइदियोस्, समर्थकको चाहना छ ।


Image

सविना कार्की

कार्की कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।