भारतमा आयोजना हुने महिला आईपीएलको अक्सनमा नेपालका ५ खेलाडी

माघ २४, २०७९ |कान्तिपुर टीभी संवाददाता
भारतमा आयोजना हुने महिला आईपीएलको अक्सनमा नेपालका ५ खेलाडी

काठमाडौं । राष्ट्रिय महिला टोलीकी कप्तान रुविना क्षेत्रीसहित नेपालका पाँच खेलाडी भारतमा आयोजना हुने महिला आईपीएलको अक्सनमा दर्ता भएका छन् । भारतीय क्रिकेट बोर्डले पहिलो पटक महिलाको लिग गर्न लागेको हो ।

कप्तान रुविना र अनुभवी सिता रानामगरसहित बलर कविता कुँवर, अश्मिना कर्माचार्य र इन्दु बर्माको नाम अक्सनमा दर्ता भएको हो । यी सबैको नाम नेपाल क्रिकेट संघले भारतीय क्रिकेट कन्ट्रोल बोर्डमा सिफारिस गरेको थियो । त्यसकै आधारमा बीसीसीआईले सम्बन्धित खेलाडीलाई दर्ता फाराम उपलब्ध गराएको थियो ।

फाराम बुझाएपछि नाम दर्ता भएको जानकारी बीसीसीआईले पठाएको कप्तान रुविना क्षेत्रीले जानकारी दिइन् । आईपीएलमा सम्बन्धित खेलाडीले नै आफ्नो विवरण राख्ने भए पनि डब्लूपीएलमा भने क्रिकेट एसोसिएसनको सिफारिसका आधारमा मात्र खेलाडीको नाम अक्सनमा चढाइएको हो ।

अक्सन फेब्रुअरी १३ मा हुनेछ । अक्सनबाट हरेक टिमले १८ खेलाडी छान्दा ७ विदेशी राख्न पाउने छन् । ७ विदेशी मध्ये एक एसोसिएट देशबाट राख्नु पर्ने प्रावधान छ । अक्सनमा १ हजार ५ सय खेलाडीको नाम दर्ता भएको भारतीय समाचार माध्यममा उल्लेख छ ।

पाँच टिम सहभागी हुने प्रतियोगिता मार्च ४ देखि २६ सम्म हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement