पल्सर अवार्डको मनोनयन सार्वजनिक (नामसहित)

माघ २३, २०७९ |कान्तिपुर टीभी संवाददाता
पल्सर अवार्डको मनोनयन सार्वजनिक (नामसहित)

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्दै आएको पल्सर स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरेको छ ।

मञ्चले सोमबार एक कार्यक्रम आयोजना गर्दै आगामी फागुन २३ गते हुने अवार्डअन्तर्गत पिपल्स च्वाइस विधामा मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो । सार्वजनिक सूचीमा फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ सेख, भलिबलकी उषा भण्डारी, टेनिसका अभिलाषा विष्ट र पौडीकी डुवाना लामा अटाएका छन् ।

सूचीमा परेका खेलाडी अघिल्लो वर्ष सम्पन्न विभिन्न प्रतियोगितामा पाएको सफलता र चर्चाका आधारमा मनोनयनमा परेका मञ्चका सचिव एवं अवार्डको खेलाडी छनोट समितिका संयोजक अञ्जन खड्काले जानकारी दिए । मनोनयनमा परेकामध्येबाट विजेताको चयन इसेवामार्फत भोटिङ, फेसबुक लाइक, नेपाल खेलकुद पत्रकार मञ्चका पत्रकारको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा हुनेछ ।

अवार्डसँग इसेवाको तेस्रो वर्षको सहकार्य हो । मञ्चले डिजिटल पेमेन्ट पार्टनरका लागि सोमबारै इसेवासँग आगामी दुई वर्षका लागि सम्झौता नवीकरण गरेको हो । सम्झौतापत्रमा मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र इसेवाका तर्फबाट हेड अफ बिजनेस डेभलपमेन्ट आशिष प्रसाईबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।

सम्झौतापत्रमा हस्ताक्षरपछि इसेवाका हेड अफ बिजनेस डेभलपमेण्ट प्रसाईले पिपल्स च्वाइस अवार्डमा जोडिन पाउँदा खुसी रहेको प्रतिक्रिया दिए । इसेवा भोटिङको मतभार ५० प्रतिशत हुनेछ भने पत्रकार र मुख्य प्रशिक्षकको मतभार २५/२५ प्रतिशत रहनेछ ।

मुख्य प्रायोजक हंसराज हुलासचन्द एन्ड कम्पनी रहेको अवार्डमा आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले यस वर्ष विभिन्न आठ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गर्दै छ । उत्कृष्ट वर्ष खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन पनि केही दिनमै सार्वजनिक गरिने मञ्चले जनाएको छ । लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड अवार्डको घोषणा भने फागुन २३ गते नै हुनेछ ।

त्यस्तै यसपटक पनि एक अन्तर्राष्ट्रिय खेल पत्रकारलाई पनि सम्मान गर्ने मञ्चले जनाएको छ । अवार्डअन्तर्गत उत्कृष्ट वर्ष पुरुष, महिला, युवा, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेताले पल्सर मोटरसाइकल पाउनेछन् । अन्य विधाका विजेताले ५० हजार पुरस्कार पाउनेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.