रुस-युक्रेन युद्धको बाछिट्टा ‘पेरिस ओलम्पिक’मा

माघ २१, २०७९ |कान्तिपुर टीभी संवाददाता
रुस-युक्रेन युद्धको बाछिट्टा ‘पेरिस ओलम्पिक’मा

काठमाडौं । रुस-युक्रेन युद्ध सुरु भएको यही फेब्रुअरी २४ मा एक वर्ष पुग्दैछ । तर यो युद्धको प्रभाव रुस र युक्रेनमा मात्रै सीमित छैन, विश्व नै दुई ध्रुवमा बाँडिएको छ । युद्धको बाछिटाले विश्व खेलकुद पनि नराम्ररी प्रभावित छ । आगामी वर्ष हुने पेरिस ओलम्पिक यसको पछिल्लो उदाहरण हो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसीले रुस र बेलारुसका खेलाडीलाई ओलम्पिकमा समेट्ने संकेत गरेपछि युक्रनेसहितका देशले प्रतियोगिता नै बहिस्कारको चेतावनी दिन थालेका छन् । खेलकुदमा राजनीति अस्वीकार्य मानिए पनि ठूला राष्ट्रले खेलकुदकै नाममा शक्ति प्रदर्शन गरिरहेका छन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) रुस र उसको सहयोगी बेलारुसलाई पेरिस ओलम्पिकमा तटस्थ खेलाडीका रुपमा सहभागी गराउन सकारात्मक देखिएको छ । केही साता अघि एसियाली ओलम्पिक परिषद्ले यी दुई देशका खेलाडीलाई एसियामा प्रतिस्पर्धा गर्न दिन ओइओसी समक्ष प्रस्ताव गर्‍यो । त्यसमा आइओसीले सकारात्मक प्रतिक्रिया दिएपछि युक्रेन आक्रोशित भएको छ । गत वर्षको फेब्रुअरीमा रुसले युक्रेनमाथि सैन्य कारबाही थाल्दा बेलारुसले पनि सहयोग गरेको थियो । तर यी देशका खेलाडीले तटस्थ रहँदै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै आएका छन् ।

निलम्बनमा रहेको रुस र वेलारुसका खेलाडी ओलम्पिकमा सहभागी गराउन नहुने तर्क युक्रेनको छ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले आइओसीले सहभागी हुन दिने निर्णय गरे सैह्य नहुने बताइसकेका छन् ।

रुसी आक्रमणबाट अहिलेसम्म युक्रेनका २ सय २० भन्दा बढी खेलाडी, पदाधिकारी र प्रशिक्षकले ज्यान गुमाइसकेका छन् । यसले पनि युक्रेन बढी आक्रोशित देखिएको हो । लिथुयानिया, लातभिया, इस्टोनिया र पोल्याण्डले पनि रुस तथा बेलारुसका खेलाडीमाथि लागेको प्रतिबन्ध फुकुवा गर्न नहुने बताइसकेका छन् । पोलिस पर्यटन तथा खेलकुद मन्त्री कामिल बोर्तानीचुकले त रुस र बेलारुसलाई सहभागी गराउन आइओसीले थप कदम चलाए युरोपेली मुलुक तथा क्यानडा र अमेरिकासहित ४० देशले पेरिस ओलम्पिक नै बहिष्कार गर्ने चेतावनी दिएका छन् । तर पेरिसले आइओसीको निर्णयअनुसार चल्ने स्पष्ट पारेको छ भने ओलम्पिक कमिटीले कुनै प्रतिक्रिया दिएको छैन ।

विश्वलाई खेलकुदको माध्यमबाट जोड्ने र भाइचारा बढाउने मूल उद्देश्यसहित ओलम्पिक कमिटीको स्थापना भएको हो । कमिटीले धनी, गरिब तथा शक्तिशाली राष्ट्र हेर्दैन । उसले खेलाडीको उत्कृष्ट प्रदर्शनका आधारमा छनोट हुने सामानान्तर माध्यम बनाएको हुन्छ । ओलम्पिक कमिटीले तटस्थ निर्णय गरेको देखिन्छ । तर यस पटक चौतर्फी दबाबमा परेको ओलम्पिकले के निर्णय गर्छ आगामी दिनमा मात्रै थाहा हुने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.