क्यानडा विश्वकपको समूह चरणबाटै बाहिर

मंसिर १२, २०७९ |कान्तिपुर टीभी संवाददाता
क्यानडा विश्वकपको समूह चरणबाटै बाहिर

दोहा । क्यानडा जारी फिफा विश्वकपको समूह चरणबाटै बाहिरिने दोस्रो टोली बनेको छ । क्रोएसियासँग ४ – १ गोलले पराजित भएपछि ३६ वर्षपछि विश्वकपमा फर्किएको क्यानडाले नक आउट चरणमा स्थान बनाउन सकेन ।

दोहाको खालिफा अन्तर्राष्ट्रिय रंगशालामा क्यानडाले खेल सुरु भएको ६८ सेकेन्डमै अग्रता लिएको थियो । बायर्न म्युनिख फरवार्ड डेभिस अल्फोन्सोले गोल गरेका थिए । योसँगै उनी फिफा विश्वकपमा क्यानडाका लागि गोल गर्ने पहिलो खेलाडी बनेका छन् । तर साविक उपविजेता क्रोएसियाले उत्कृष्ट पुनरागमन गर्‍यो ।

३६ औँ मिनेटमा इभान पेरिसिचको पासमा आन्द्रे क्रामारिचले बराबरी गोल फर्काए । ४४ औँ मिनेटमा मार्को लिभायाको गोलपछि पहिलो हाफमा क्रोएसिया २ – १ ले अघि रह्यो ।

७० औँ मिनेटमा क्रामारिचले व्यक्तिगत दोस्रो गोल थपे । इन्जुरी समयमा लोभ्रो मेयरको गोलसँगै क्रोएसियाले ४ – १ को शानदार जितका साथ खेल टुंग्यायो। पहिलो खेलमा बेल्जियमसँग पराजित भएको क्यानडा पछिल्लो पटक सन् १९८६ को विश्वकपमा पनि समूह चरणबाटै बाहिरिएको थियो । समूह ‘एफ’ मा रहेको क्रोएसिया पहिलो खेलमा मोरक्कोसँग गोलरहित बराबरी खेलेको थियो ।

चार अंकको साथ क्रोएसिया शीर्ष स्थानमा छ । बेल्जियमलाई २ – ० गोलले स्तब्ध पारेको मोरक्को समान अंकसहित दोस्रो स्थानमा छ । तीन अंक बटुलेको बेल्जियम तेस्रो स्थानमा छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement