राजदरबार घेर्ने जनताको त्यो चेतावनी !

नेपाली लोकतन्त्रको १८ वर्ष
वैशाख ११, २०८१ |दीपक आचार्य
राजदरबार घेर्ने जनताको त्यो चेतावनी !

काठमाडौं । नेपालमा लोकतन्त्र स्थापना भएको आज १८ वर्ष भएको छ । २०६३ वैशाख ११ गते जनआन्दोलनको दबाबमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रतिनिधिसभाको पुनर्स्थापना गरी जनताले भनेबमोजिम गर्न स्वीकार गरेका थिए । अर्थात् तत्कालीन राजाको हातमा रहेको सबै शक्ति जनताले खोसेका थिए ।

निरंकुशताविरुद्ध सात राजनीतिक दल र सशस्त्र युद्धरत नेकपा माओवादीले संयुक्त रुपमा गरेको ०६२/६३ सालको जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको हो । नेपालमा लोकतन्त्र कसरी आएको थियो त ?

२०६३ वैशाख ११ गते देश व्यायापी सडकमा उत्रिएपछि आन्दोलन उत्कर्षमा पुगेको थियो । त्यसैबाट झस्किएका राजा ज्ञानेन्द्र शाहले संसद् पुन:स्थापनाको निर्णयमा पुगेका थिए । जुन समयमा काठमाडौंको सडकमा उत्रिएका जनता राजदरबार घेर्न चेतावनी नै दिएका थिए ।

राजाले २०५९ असोज १८ गते जननिर्वाचित प्रधानमन्त्रीलाई अपदस्थ गर्नु र २०६१ माघ १९ मा पुग्दा मन्त्रीपरिषद्को अध्यक्षसमेत आफैंलाई घोषित गर्ने परिस्थितिले जनआक्रोश बढाएको थियो । त्यसपछि आन्दोलन पनि देशव्यापी भएको थियो । जसमा शान्तिपूर्ण राजनीतिमा रहेका सात दल र युद्धमा रहेको माओवादीबीचको सहकार्य पनि यसले नै बढायो । त्यसको परिणाम आन्दोलनरत तत्कालीन सात दल र नेकपा माओवादीबीच दिल्लीमा १२ बुँदे सम्झौतासम्मको स्थिति बन्यो । त्यसले नै आन्दोलनलाई निष्कर्षतर्फ पुर्याएको थियो ।

‘लोकतन्त्र ल्याउन राजनीतिक दलहरुलाई आमजनता, नागरिक समाजदेखि आमसञ्चार सवै क्षेत्रले महत्त्वपूर्ण भूमिका खेले,’ पत्रकार जगत नेपालको भनाइ छ ।

राजनीतिक दलहरु मिलेर गरेको आन्दोलनलाई सामाजिक क्षेत्रका अगुवाहरुले दिएको साथले पनि सहयोग पुगेको कवि अर्जुन पराजुली बताउनुहुन्छ ।

देशमा लोकतन्त्र आएपछि जनताले राष्ट्रप्रमुखदेखि आफूमाथि शासन गर्ने सबैलाई आफ्नै मतले चयन गर्ने स्थिति बनेको छ । २०६३ मंसिर ५ मा सरकार र माओवादी केन्द्रबीचको शान्तिसम्झौतासँगै १० वर्ष लामो सशस्त्र युद्ध अन्त्य भयो । २३७ वर्ष लामो इतिहास बोकेको राजतन्त्र अन्त्य गर्दै देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको हो । संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षता जस्ता विषय जनताले उपभोग गर्न पाएका छन् ।

यो पनि...

१८ वर्षअघि आजकै दिन कसरी आएको थियो लोकतन्त्र ?


Image

दीपक आचार्य

आचार्य कान्तिपुर टेलिभिजनमा राजनीतिक ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement