नेकपा स्थापनाको ७५ वर्ष : नेपालका कम्युनिस्ट टुटफुट हुँदै गुटगुटमा विभाजित

कम्युनिस्ट नेताहरु विचार र सिद्धान्तभन्दा सत्ता स्वार्थमा लिप्त, कमजोर बन्यो वामआन्दोलन
वैशाख १०, २०८१ |दशरथ राई
नेकपा स्थापनाको ७५ वर्ष : नेपालका कम्युनिस्ट टुटफुट हुँदै गुटगुटमा विभाजित

काठमाडौं । नेपालका राजनीतिक दलहरुमा कम्युनिस्ट विचारधाराका दल धेरै छन् । अर्कोतर्फ निर्वाचनमा खसेको मतमध्ये पनि कम्युनिस्ट पार्टीहरुको मत जोड्ने हो भने यिनीहरु एकठाउँ हुँदा सजिलै बहुमत पुग्छ । तर नेपालका कम्युनिस्ट पार्टी टुटफुट हुँदै गुटगुटमा विभाजित छन् ।

अझ २०७४ सालको निर्वाचनमा नेकपा एमाले र मा‌ओवादी केन्द्र बीचको एकतापछि जनताले दिएको झन्डै दुईतिहाइ मतको समेत अपमान गर्दै टुटफुटमै रमाइरहेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी स्थापना स्थापनाको ७५ वर्ष पुग्दासमेत कम्युनिस्ट नेताहरु विचार, सिद्धान्त, रणनीति र कार्यनीतिभन्दा आफ्नो स्वार्थमा लाग्दा कम्युनिस्ट आन्दोलन नै कमजोर बन्दै गएको छ ।

कम्युनिस्ट पार्टीका नेताहरुको रहनसहन उठबस र विचारधाराका आधारमा किन यति धेरै विचलन भनेर प्रश्न गर्यो भने, अहिले यहाँ को कम्युनिस्ट छ र, भनेर उल्टै प्रतिप्रश्न गर्दै, गल्ति ढाकछोप गर्ने प्रयास गरिरहेका भेटिन्छन् ।

यहि दोहोरो चरित्रका कारण नेपालका कम्युनिस्ट पार्टीहरु जुट्ने र फुट्ने क्रम रोकिएको छैन । स्थापनाको ७५ वर्षभित्रै कम्युनिस्ट पार्टी विभिन्न टुक्रामा विभाजित छ । । कम्युनिस्ट पार्टी मिल्दा सहजै सत्ता सञ्चालन गर्न सक्ने हैसियत बनाएका उदाहरण हुँदा पनि नेताहरुको स्वार्थ हावी हुँदा जनमत विभाजित छ । २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी अहिले कति टुक्रा भएको छ भन्ने तथ्यांकसमेत भेटिँदैन । नेताहरु पिच्छेका कम्युनिस्ट घटक छन् ।

२०४६ को जनआन्दोलनपछि संसदीय प्रणालीमा प्रवेश गरेका कम्युनिस्टमा फुट्न, जुट्न र मिल्नका लागि वैचारिक, सैद्धान्तिक र राष्ट्रिय मुद्दा चाहिएको देखिँदैन । तर जतिखेर पनि टुक्रँदै हिँड्ने यिनै नेताहरु वामपन्थी एकताको कुरा गर्न भने छाड्दैनन् ।

२०५४ सालमा एमाले फुटेर माले बन्यो । फुटेको चार वर्षपछि २०५८ मा दुवै पार्टी एक भए । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा भन्नुहुन्छ, ‘वामपन्थी दल मिल्नुको विकल्प छैन ।’

त्यसो त २०५२ सालमा सशस्त्र युद्ध सुरु गरेको माओवादी ०६२/६३ को जनआन्दोलनपछि एमाले र कांग्रेससँगै संसदीय व्यवस्थामा आइपुग्यो । २०६४ सालको पहिलो संविधानसभा चुनावपछि नारायणकाजी श्रेष्ठको एकता केन्द्र माओवादीमा मिल्यो । मोहन वैद्य र नेत्रविक्रम चन्दले माओवादी छाडेर अर्को पार्टी बनाए । पछि चन्दको नाममा अर्कै पार्टी गठन भयो ।

बाबुराम भट्टराईले त कम्युनिस्ट आन्दोलन नै छोडेर नयाँ शक्ति नेपाल पार्टीको संयोजक बन्नुभयो । त्यो पार्टी पनि भंग गरी जनता समाजवादी पार्टीमा पुगेका भट्टराई अहिले नेपाल समाजवादी पार्टी चलाउँदै आउनुभएको छ ।

२०७४ सालको संसदीय चुनावमा कम्युनिस्टका मुख्य ठूला दल एमाले र माओवादी केन्द्रले अप्रत्यासित एकता गरेर दक्षिण एसियाकै ठूलो कम्युनिस्ट पार्टी बनाए । झन्डै दुईतिहाइको जनमत प्राप्त गरी स्थिर सरकार बनाए । तर त्यो टिकाउन सकेनन् । नेताहरुको व्यक्तिगत स्वार्थ र टकरावले साढे तीन वर्षमै अलगअलग भए । त्यसपछि एमालेबाट माधवकुमार नेपालले विद्रोह गरेर नेकपा एकीकृत समाजवादी गठन गर्नुभयो ।

नाम कम्युनिस्ट नभइनहुने तर व्यवहारमा कम्युनिस्ट बन्नै नचाहने, वामपन्थी विचारधारा भनेर सामूहिकताको कुरा गर्ने तर व्यवहारमा मिलेर बस्नै नसक्ने, सर्वहाराको राज्यसत्ता भनेर वकालत गर्ने तर व्यवहारमा दलाल पुँजीवाद र विचौलियाको एजेन्ट बनेर हिँड्ने नेताहरुको दोहोरो चरित्रकै कारण कम्युनिस्ट आन्दोलन बदनाम भएको छ भने जनमतको समेत ख्याल नगरी नेतृत्व फुटमा रमाइरहेको छ । तर दोष भने उनीहरु विदेशी शक्तिलाई दिन छाड्दैनन् ।


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement