६ महिना पछि लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आज बस्दै

फाल्गुन १८, २०८० |अमृता अनमोल
६ महिना पछि लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आज बस्दै

बुटवल । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आज दाङको भालुवाङमा बस्दै छ ।

आज दिउसो ३ बजे तेस्रो अधिवेशन बस्ने प्रदेश सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । सरकारले बिजनेस नदिएको बताउँदै भदौ २२ मा सकिएको लुम्बिनी  प्रदेशसभाको तेस्रो अधिवेशन ६ महिनापछि बस्न लागेको हो । 

आजको बैठकमा प्रदेश प्रमुख कार्यालयबाट आएका पत्रहरू पढ्ने, मन्त्रीपरिषद् हेरफेरबारे जानकारी दिने र संसदीय दलका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । भोलि लुम्बिनी प्रदेश सभामा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । 

प्रदेशसभाको बैठक बस्न नसक्दा प्रदेशसभा सदस्यहरू कामविहीन बनेका छन् । लुम्बिनी प्रदेशमा अहिलेसम्म मिनी संसद्का रूपमा हेरिने विषयगत समितिको नेतृत्व समेत चयन हुन सकेको छैन ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।