सत्ता समीकरणको बलियो विकल्प बन्ने दाउ खोज्दै समाजवादी मोर्चा

फाल्गुन १५, २०८० |दीपक आचार्य|महाप्रसाद खतिवडा
सत्ता समीकरणको बलियो विकल्प बन्ने दाउ खोज्दै समाजवादी मोर्चा

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध समाजवादी मोर्चाले प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग सहकार्यको पहल अघि बढाएपछि सत्ताको दाउपेच र आगामी चुनाव लक्षित रणनीतिका रेखाहरू तलमाथि हुनसक्ने संकेत देखिन थालेका छन् । समाजवादी मोर्चाले एमालेसमेतलाई मनाएर कम्युनिस्ट ध्रुवीकरण गर्ने प्रयास कांग्रेसलाई तर्साउन त हो नै सत्ता समीकरणको बलियो विकल्प नै बन्ने रणनीति पनि हो ।

नेपाली काँग्रेस महासमिती बैठकमा गठबन्धन विरुद्धको आवाज जोडतोडले उठेपछि माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका दल तर्सिएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आश्वस्त पार्न खोज्नु भएको छ । तर सत्ता गठबन्धन भित्रका माओवादी र एकीकृत समाजवादीलाई त्यति विश्वास लागेको छैन । यस कारण उनीहरू सुषुप्त अवस्थामा रहेको समाजवादी मोर्चालाई चलायमान बनाउन खोजिरहेका छन् ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपासमेत संलग्न सत्ता पक्षधर समाजवादी मोर्चाको राजनीतिक रणनीति र ठोस लक्ष्य देखिन्न । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता र शक्ति सन्तुलनकै स्वार्थलाई केन्द्रमा राखेर मोर्चा बनाएका थिए। अहिले कम्युनिस्ट ध्रुवीकरणको प्रयास थालेपछि त्यो मोर्चाले आगामी चुनाव, सत्ता समीकरण र कांग्रेसलाई तर्साउनेसम्मका रणनीति बनाउन खोजेको देखिँदै छ ।

हुन त, प्रधानमन्त्री पुष्पकमल दाहालको इतिहास नै छ, उनी जब जब सत्ताको शक्ति सन्तुलनमा कमजोर हुन्छन् अर्को राजनीतिक खेल थालिहाल्छन् । अहिले नेपाली कांग्रेस भित्र चुनावी गठबन्धन नगर्ने विषयले चर्को रूप लिएपछि दाहालले एमालेलगायतका अन्य वामपन्थी पार्टीलाई मोर्चामा आबद्ध गर्ने विकल्प अगाडि सारेर काँग्रेसलाई तर्साएका छन् भने कांग्रेस समेत सशंकित बनेको छ ।

कांग्रेसकै आडभरोसाले अहिले सत्तामा टिकिरहेका प्रधानमन्त्री दाहाल कांग्रेसकै गतिविधिबाट भने दिक्क देखिन्छन् । कांग्रेसका नेता कार्यकर्ताले सरकारको प्रतिरक्षा गर्नुपर्नेमा उल्टै आलोचना गर्नु, मन्त्रिपरिषद् हेरफेरको प्रयास कांग्रेस सभापति शेरबहादुर देउवाले नै रोक्नु र राष्ट्रिय सभा निर्वाचनमा कोशीमा धोका खानुले प्रधानमन्त्रीलाई झन् झस्काएको छ । यो स्थितिमा कांग्रेसलाई तर्साउने र सिद्धान्तमा समस्या नभएका तर व्यक्तिगत अहम्‌ले अलग्गिएका कम्युनिस्टहरुसँग नजिकिने दाउमा दाहाल देखिन्छन् ।

प्रधानमन्त्री दाहालले कांग्रेससँगको संशय र जसरी पनि सत्ता गठबन्धन टुटाउने एमालेको चाहानालाई राम्ररी बुझेका छन्। वामशक्ति एकताको बहस एमालेभित्र चलिरहेको पनि छ । तर एमाले नेतृत्व भने तत्काल मोर्चासँगको सहकार्य स्विकार्न चाहन्न ।

सत्तापक्षकै कांग्रेसले अब गठबन्धन नगर्ने बहस तीव्र पार्नु र कम्युनिस्ट शक्तिले मोर्चा बलियो बनाउन खोज्नुको खास अन्तर्य सत्ता स्वार्थ नै हो । सत्ता पक्षकै शक्तिबीच एकले अर्कोलाई तर्साउनुमा सरकारको दाउपेच र आगामी निर्वाचनको हिसाबकिताब समेत जोडिएको छ । कांग्रेस भित्र गठबन्धन विरुद्धको बहस । एमालेमा गठबन्धन भत्काउने बहस ।

कसैसँग गठबन्धन नगरे सत्ता र निर्वाचनबाट च्युत हुनुपर्ने भयले अत्तालिएका प्रधानमन्त्री पुष्पकमल दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल झिनामसिना शक्ति जोडेर पेट फुलाउने भ्यागुतो जस्तो आफूलाई ठुलो र शक्तिशाली भनेर स्थापित गर्न खोजिरहेका छन् ।


Image

दीपक आचार्य

आचार्य कान्तिपुर टेलिभिजनमा राजनीतिक ब्युरोमा कार्यरत छन् ।

Image

महाप्रसाद खतिवडा

खतिवडा कान्तिपुर टेलिभिजनका विराटनगर संवाददाता हुन् ।