अस्तित्वकै संघर्षमा माओवादी केन्द्र

लोकप्रियता घट्दै गएपछि नाम र चुनाव चिह्‍न परिवर्तनको बहस
आमकार्यकर्ताको चासो- नामभन्दा नेतृत्वको कार्यशैलीमा परिवर्तन
फाल्गुन २, २०८० |अवतार राई
अस्तित्वकै संघर्षमा माओवादी केन्द्र

काठमाडौं । १० वर्ष सशस्त्र लडाइँ लडेको माओवादी अहिले अस्तित्वको लडाइँ लडिरहेको छ । नेकपा माओवादी केन्द्रले अहिलेसमेत चारपटक सत्ताको नेतृत्व गरिसक्यो, तर माओवादीको अस्तित्व भने कमजोर बन्दै गएको छ ।

कतिसम्म भने माओवादी केन्द्रलाई अहिले एक्लै चुनावमा प्रतिस्पर्धा गर्नसमेत कठिन भएको छ । त्यही कारण उसले कहिले कांग्रेस त कहिले एमालेसँग सहकार्य गरेर चुनावी प्रतिस्पर्धा गरिरहेको छ । राजधानीमा जारी विधान अधिवेशनमा पनि माओवादी केन्द्रका नेताहरुले पार्टीको अस्तित्व संकटमा पर्दै गएको स्वीकारेका छन् । नेताहरु कसरी पार्टीको छुट्टै अस्तित्व जोगाउने भन्ने बहसमा केन्द्रित छन् ।

काठमाडौंमा जारी माओवादी केन्द्रको विधान मस्यौदामाथिको छलफलमा अधिकांश सदस्यहरुले नेतृत्वको कार्यशैलीका कारण पार्टीको जनमत घट्दै गएको र अब नयाँ रणनीति अपनाउन नसके पार्टी अस्तित्व नै संकटमा पर्ने चेतावनी दिएका छन् । यो पहिलो विधान अधिवेशनमा भइरहेको छलफलमा नेताहरुले पार्टी कमजोर हुँदै गएको स्वीकार गरेका छन् । २०६४ सालको चुनावमा प्रत्यक्षतर्फका २४० सिटमध्ये माओवादीले १२० स्थान अर्थात् बहुमत सिटमा जितेको थियो । गत वर्षको चुनावमा गठबन्धन गर्दासमेत उसले १६५ क्षेत्रमध्ये जम्मा १८ सिट जितेको थियो ।

माओवादी कमजोर हुँदै जानुको पछाडि यसको फुट र विभाजन पनि कारण हो । २०६४ सालपछि माओवादी केन्द्रले विभाजनको थुप्रै शृंखला बेहोरेको छ । तर मूल नेतृत्व प्रायः सरकारमै छ । राज्य सञ्चालन गर्ने अवसर पाउँदा पनि जनतामा सकारात्मक प्रभाव छाड्न नसक्दा माओवादी कमजोर बनेको हो । त्यति मात्र नभएर पार्टीमा विचार र व्यवहारको फराकिलो अन्तर हुँदा जनताले विश्वास गर्न छाडेको भन्दै नेताहरुले नेतृत्वको आलोचना गरेका छन् ।

माओवादीले धेरैपटक पार्टीको नामसमेत परिवर्तन गरिसकेको छ । अहिले विधान अधिवेशनमा पनि फेरि नाम परिवर्तनको बहस भइरहेको छ । पटकपटक पार्टीको नाम परिवर्तन हुँदा त्यसले सकारात्मक सन्देश नगएको कतिपयको बुझाइ छ । आमकार्यकर्ताको चासो नाम परिवर्तनमा भन्दा पनि नेतृत्वको कार्यशैली परिवर्तनमा छ ।


Image

अवतार राई

राई कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।