यादव-राउत टसल : प्रहरीसँग झडप, जनमतका मन्त्री घाइते (भिडियोसहित)

मधेश कृषि विश्वविद्यालय भवन शिलान्यासलाई लिएर सप्तरीमा तनाव
माघ ८, २०८० |आरएन विश्वास
यादव-राउत टसल : प्रहरीसँग झडप, जनमतका मन्त्री घाइते (भिडियोसहित)

राजविराज । मधेश कृषि विश्वविद्यालयको शिलान्यास गर्न आउने जसपा अध्यक्ष उपेन्द्र यादवलाई विरोधसहितको ब्यानर देखाउन आउने जनमतका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

‘सप्तरी जनताको विरोधका बाबजुद गैरकानुनी गैरवैधानिक कार्यक्रममा प्रमुख अतिथि बन्न सप्तरीको जनताको नरसंहार नै गर्न मरिहत्ते गर्नुभएका माननीय उपेन्द्र यादवज्यूलाई जनमत पार्टीको तर्फबाट हार्दिक स्वागत गर्दछौं । हामी सप्तरीको शान्ति र सुरक्षाका लागि बाँधिएका छौं ।’ लेखिएको ब्यानर देखाउन आएका जनमत कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।

प्रदेश सांसद सतिश सिंहको नेतृत्वमा आएका जनमत कार्यकर्ता ब्यानर बोकेर शिलान्यास स्थलमा आउन लाग्दा प्रहरीसँग झडप भएको हो । झडपका क्रममा प्रदेशका शिक्षामन्त्री महेशप्रसाद यादव र प्रदेश सांसद सतिश सिंह सुरक्षाकर्मीको लाठी चार्जबाट सामान्य घाइते भएका छन् । यादव र सिंह जनमत पार्टीसँग आबद्ध छन् ।

त्यसलगत्तै जसपा अध्यक्ष उपेन्द्र यादव, मुख्यमन्त्री सरोज यादवसहितका जसपाका नेताहरुले कार्यकर्ता र सुरक्षाकर्मीको सुरक्षाघेरामा मधेश कृषि विश्वविद्यालयको शिलान्यास गरेका छन् ।

यसैबीच प्रहरीसँगको झडपपछि मधेश प्रदेशका शिक्षामन्त्री यादव र प्रदेश सांसद सिंहले शिलान्यासस्थलमै धर्ना दिएका छन् ।

विश्वविधालयको कार्यालयले शिलान्यास कार्यक्रमको प्रमुख अतिथिमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई निम्तो गरेको र जनमतबाट शिक्षामन्त्री बनेका यादवले आफूसँग कुनै सल्लाह गरी शिलान्यास कार्यक्रम राखिएको भन्दै स्थगित गर्न विज्ञप्ति जारी गरेपछि त्यहाँ दुई पार्टीबीच विवाद बढेको थियो ।

त्यसअघि जनमतका कार्यकर्ताले हिजो विश्वविद्यालयमा तालाबन्दीसमेत गरेका थिए ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।