सरकार बदल्ने दौडमा किन खुलेरै अघि बढ्दै छ एमाले ?

माघ ६, २०८० |अवतार राई
सरकार बदल्ने दौडमा किन खुलेरै अघि बढ्दै छ एमाले ?

काठमाडौं । सत्ताबाट बाहिरिएको १० महिनामा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले खुलेरै सरकार बदल्ने दौडमा अघि बढेको छ । अध्यक्ष केपी ओली सार्वजनिक कार्यक्रममा कार्यकर्तालाई आन्दोलनका लागि तयार रहन आह्वान गर्न थालेका छन् । सरकारको कार्यसम्पादन कमजोर भएको र गठबन्धन तोड्नु आवश्यक भएको ओलीको तर्क छ । पार्टीभित्र आन्दोलनको तयारी पनि सुरु भएको छ । तर आन्दोलनको एजेन्डाबारे भने एमाले प्रस्ट छैन । 

उसो त फागुन चैतको समयलाई दलहरूले आन्दोलनमय बनाउने गरेका छन् । परिणाम आओस् वा नआओस्, यो समयमा दलहरूले सडक तताउने बहाना खोजिहाल्छन् । अहिले विपक्षी दलहरू त्यही तयारीमा लागेका छन् । राप्रपाले फागुनमा काठमाडौंकेन्द्रित आन्दोलनको घोषणा गरिसकेको छ । यहीबीचमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्षले पनि कार्यकर्तालाई आन्दोलनका लागि तयार रहन निर्देशन दिइसकेका छन् ।

भन्नलाई एमालेले सरकारले कामै गर्न नसकेको भन्दै छ । सत्ता गठबन्धनसँग देशका लागि काम गर्ने भिजन नै नभएको अध्यक्ष ओलीको पुरानै कथन हो । तर प्रतिपक्षमा रहँदा गठबन्धन भत्काउन कुनै चलखेल नगर्ने बताउने गरेका ओली र उनको पार्टी अहिले आएर गठबन्धन कमजोर बनाउन किन उद्यत छ ? स्पष्ट छैन । तर एउटा कुरा स्पष्ट के छ भने उसलाई सत्ताको बागडोर चाहिँ चाहिएकै छ । त्यसका लागि पार्टीभित्र आन्दोलनको तयारी सुरु भइसकेको नेताहरूको भनाइ छ ।

गठबन्धनसँग एमाले रुष्ट हुनुको ताजा कारण भने राष्ट्रिय सभामा एमाले रित्तो हात हुने अवस्था हो । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिमै पास गर्ने विषयलाई राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सिट बाँडफाँटका लागि सर्त बनाउन खोजेको एमालेले त्यसमा सफलता पाएन ।

त्यसबाहेक निकै ठूलो चलाखीका साथ चुनावी गठबन्धन भत्काएर पुष्पकमल दाहाल नेतृत्वको सरकार बनाएर फेरि दुई महिनामै त्यसबाट बाहिरिनुपरेको चोट एमालेका लागि दुखिरहने घाउ बनेको छ । अहिले त्यही घाउ बल्झिएको हो त ? एमालेजन भन्छन्, उसको हालै सम्पन्न मध्य पहाडी लोकमार्गको यात्रामा कार्यकर्ताबाहेक आमनागरिकको चासो पार्टीप्रति नदेखिनुले पार्टीमा नयाँ हतासा देखिएको हो । त्यसकारण पनि ८४ को चुनाव कुर्न नसकिने अभिव्यक्ति आएको हुन सक्ने विश्लेषकको टिप्पणी छ ।

यहिबेला सत्तागठबन्धनभित्रका जसपा, एकीकृत समाजवादी र जनमत पार्टीको असन्तुष्टिलाई एमालेले नयाँ अवसरका रूपमा देखेको छ । राप्रपाको आन्दोलन, अर्को विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीको दबाब यात्राजस्ता कार्यक्रमकै बीच आन्दोलन गर्दा सरकारलाई गलाउन सकिने उसको बुझाइ छ । यसका लागि उसले पहिले प्रदेश तहमा जनसभा गर्ने तयारी गर्दै छ ।

एमालेको आन्दोलनको दबाबले सरकारको काममा सुधार आए त राम्रै हो । तर मुख्य कुरा हो भने गठबन्धनमा फाटो ल्याएर सत्तारोहण गर्न नसके २०८४ को चुनावमा आफ्नो अस्तित्व नै जोखिममा पर्ने चिन्ताले एमालेलाई राम्रैसँग सताएको छ ।

अर्कोतर्फ, चिनियाँ नेताहरूको लगातारको नेपाल भ्रमणका क्रममा कम्युनिस्ट घटकहरूलाई फेरि एकत्रित गर्ने प्रयासले पनि एमालेलाई कतै न कतै हौस्याएकै छ । तर मौसम आन्दोलनको भए पनि सानोतिनो आन्दोलनले गठबन्धन भत्किने सम्भावना भने कमै छ ।

सम्बन्धित समाचार...

ओली भन्छन्, ‘८४ कुरिँदैन, गठबन्धन भत्काएरै भएपनि सरकार फालिन्छ’ (भिडियो)


Image

अवतार राई

राई कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।