सरकारमै सहभागी जनमत पार्टीको प्रतिपक्षी चरित्र

उपराष्ट्रपतिदेखि राष्ट्रिय सभा चुनावसम्म गठबन्धनकै विरुद्ध उम्मेदवारी, भागबन्डामा ठगिएको गुनासो
माघ २, २०८० |अवतार राई
सरकारमै सहभागी जनमत पार्टीको प्रतिपक्षी चरित्र

काठमाडौं । जनमत पार्टी केन्द्रमा गठबन्धन सरकारमा छ । गठबन्धनकै लाभ लिएर मधेश र लुम्बिनी प्रदेशमा पनि आकर्षक मन्त्रालय लिएको छ । तर विगत एक वर्षको गतिविधि हेर्ने हो भने जनमत गठबन्धनकै विद्रोहीजस्तै देखिन्छ । सत्तामा पनि रहने र गठबन्धनका निर्णयविरुद्ध पनि उभिने जनमतको चरित्र विद्रोही हो वा लाभको मोलमोलाइ ?

चुनावी गठबन्धन भत्काएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग नयाँ समीकरण बनाउँदै गर्दा साथैमा उभिएको थियो जनमत पार्टी । त्यही समीकरणमा रहेर जनमतका अब्दुल खान विनाविभागीय मन्त्री बने । जनमतले चाहेको थियो उद्योग, तर भागबन्डामा खानेपानी मन्त्रालय परेपछि असन्तुष्ट उनले केही दिन घुर्क्याएर २०७९ माघ ११ गते मन्त्रालय सम्हाले । 

राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनका बेला पुरानै गठबन्धन ब्युँतिँदा एमाले, रास्वपा र राप्रपाले सरकार छाडे तर, जनमतले छाडेन । गठबन्धनमा राष्ट्रपति कांग्रेसलाई  र उपराष्ट्रपति जसपालाई दिने सहमति हुँदा जनमतले भने उपराष्ट्रपतिमा गठबन्धन विरुद्ध आफ्नै उम्मेदवार उठायो । 

यसरी गठबन्धनमा बागी बनेको जनमतले त्यसपछि भने सरकार छाड्यो । गठबन्धनले बारा २ को उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादव साझा उम्मेदवार बनाउँदा जनमतले त्यहाँ पनि सघाएन र विद्रोह गर्दै आफ्नै उम्मेदवार उठायो ।  गठबन्धनकै उम्मेदवारसँग प्रतिस्पर्धा गरेर विद्रोह गरिरहेको जनमतले यतिबेलासम्म सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको थिएन । तर संसदमा बजेटमाथिको मतदानमा भने उ सरकारविरुद्ध उभियो ।

बजेटकै विरुद्ध उभिएको जनमत अव गठबन्धनमा रहँदैन भन्ने आंकलन सबैको थियो । तर त्यसको ठीक विपरीत बजेटमा विद्रोही बनेको जनमत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लिएर फेरि गठबन्धनमै घुस्यो । फर्केर गठबन्धनमै पुगेको जनमत सरकारकै निर्णयविरुद्ध पनि सडकमा उत्रिने चाहिँ गरिरहेको छ

। सरकारले नै निषेधित क्षेत्र घोषणा गरेको माइतीघर मण्डलामा मन्त्री अनिता देवी र पार्टीका अध्यक्ष सीके राउत झन्डा र ब्यानरसहित विरोधमा उपस्थित भए । अहिले राष्ट्रियसभा निर्वाचनमा पनि गठबन्धनले साझा उम्मेदवार उठाउँदै गर्दा सत्तारुढ जनमतले भने लुम्बिनी र मधेशमा बागी उम्मेदवार उठाएको छ ।

मूलतः, मधेशकेन्द्रित राजनीतिमा नयाँ शक्तिको रूपमा उदाएको जनमत प्रदेशदेखि संघसम्मै सत्तामा बस्न चाहन्छ । तर, गठबन्धन दलसँग उसको सम्बन्ध उतिसारो राम्रो देखिँदैन । कारण अर्को मधेशकेन्द्रित दल जनता समाजवादी पार्टी गठबन्धनमै छ र उ सँग जनमतको प्रतिस्पर्धा छ । यसकारण ऊ जनतालाई म जनता समाजवादी भन्दा फरक हो भन्ने देखाउन पनि चाहन्छ । तर उसलाई सत्ता पनि चाहिएको छ । 


Image

अवतार राई

राई कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।