सरकार गठनको कसरतमा शीर्ष नेताहरू

मंसिर १२, २०७९
सरकार गठनको कसरतमा शीर्ष नेताहरू

काठमाडौं । हालसम्म सार्वजनिक मत परिणामले आगामी संसद् कस्तो बन्ने र कुन दलको हैसियत कस्तो हुने भन्ने लगभग प्रस्ट भइसकेको छ । तर, मत परिणामको टुङ्गो लाग्ने बेलासम्म प्रमुख दलले केन्द्रीय पदाधिकारी वा केन्द्रीय कमिटीको बैठक बोलाएका छैनन् । 

आन्तरिक छलफलै नगरी ठुला दलका शीर्ष नेताहरू प्रधानमन्त्रीका लागि आफ्नो पक्षमा समर्थन जुटाउन व्यक्तिगत रूपमै दौडधुप गरिरहेका छन् । पार्टीहरूसँगको संवाद सबैभन्दा पहिले अघि बढाए एमाले अध्यक्ष केपी ओलीले । दोस्रो ठुलो दल बनेको एमालेका अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरी सहकार्यको प्रस्ताव गरे । त्यस्तै कांग्रेसबाट प्रधानमन्त्रीका दाबेदारहरू प्रकाशमान सिंहले एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र रामचन्द्र पौडेलबीच पनि भेटवार्ता भएको छ । यी सबै भेटघाटको उद्देश्य हो- प्रधानमन्त्रीमा आफ्नो पक्षमा समर्थन जुटाउनु ।

सम्भावित सरकार गठनको विषयलाई लिएर छिमेकी मुलुक भारतका राजदूत नवीन श्रीवास्तवले समेत शीर्ष नेताहरूसँग भेटवार्ता गरेका छन् । निर्वाचनको नतिजा आई नसक्दै भएको यो भेटलाई राजनीतिज्ञहरूले स्वाभाविक रूपमा लिएका छैनन् ।

कुनै दलले आफ्नो तर्फबाट प्रधानमन्त्री बनाउने भन्नेबारे सर्वप्रथम पार्टीभित्रै आन्तरिक निर्णय हुनुपर्छ । त्यसपछि संसदीय दलको नेता छान्नुपर्ने हुन्छ । बल्ल आफ्नो पक्षमा समर्थन जुटाउन सम्भावित प्रधानमन्त्रीले अन्य दलका नेतासँग संवाद बढाउनुपर्छ । तर, पार्टीभित्र कुनै छलफल नगरी अन्य दलका नेता भेट्ने हतारो किन ? के दलहरूभित्र सामूहिक निर्णय र आन्तरिक लोकतन्त्रको अभाव देखिएको हो ?

चुनावको मत परिणामले कुनै पनि दललाई बहुमत प्राप्त छैन । सरकार गठनका विभिन्न विकल्प छन् । यो अवस्थामा दलहरूले व्यक्तिगत दौडधुपभन्दा पनि आन्तरिक तथा बहुपक्षीय छलफलमार्फत् ठोस र परिपक्व निर्णय लिनुपर्ने देखिन्छ ।


Enter Kantipur TV HD
Advertisement