भक्तपुर । २०७२ सालको भूकम्पले क्षति पुर्याएको भक्तपुर दरवर क्षेत्रस्थित ऐतिहासिक मल्लकालिन थँथु दरवारको पुनर्निर्माण सुरु भएको छ ।
भूकम्प आएको ९ बर्षपछि भक्तपुर नगरपालिकाले ३ सय ४६ वर्ष पुरानो थँथु दरवारको पुनर्निर्माण कार्य सुरु गरेको हो । उक्त दरवारमा २००६ सालदेखि २०७२ सालको भूकम्प अघिसम्म भक्तपुर नगरपालिकाको कार्यालय थियो ।
सोमबार नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुर-१ का प्रतिनिधिसभा सदस्य प्रेम सुवाले दरवारको शिलान्यास गर्नु भएको हो । उक्त दरवारको अवषेश नै ५५ झ्याले दरवार भएको इतिहासविद् प्राडा पुरुषोत्तम लोचन श्रेष्ठले बताउनु भएको छ ।
थँथु दरवार जीतामित्र मल्लले नेपाल संवत ७ सय ९८ मा बनाएको इतिहासविद् श्रेष्ठको भनाइ छ । दरवारको उत्खनन् गरी अध्ययनपछि १८९० साल अगाडिकै शैलीमा दरवारको पुनर्निर्माण गर्ने नगरप्रमुख सुनिल प्रजापतिले जनाउनु भयो ।
दरवार पुनर्निर्माण गर्न १२ करोड ८५ लाख रुपैयाँ बजेट विनियोजन गरेको र यो वर्ष ४ करोड ७२ लाख रुपैयाँ निकासा गरी काम अगाडि बढाएको नगरपालिकाले जनाएको छ । दरवार पुनर्निर्माणको काम ३ वर्षभित्र पूरा गर्ने योजना छ ।