पराजयको सम्पूर्ण दोष बोक्न तयार छु, रास्वपाको उदय हाम्रै कमजोरीको परिणाम : विश्वप्रकाश शर्मा

फाल्गुन २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
पराजयको सम्पूर्ण दोष बोक्न तयार छु, रास्वपाको उदय हाम्रै कमजोरीको परिणाम : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीले भोगेको पराजयको जिम्मेवारी आफूले लिन तयार रहेको बताउनुभएको छ ।

निर्वाचनको परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मुलुकको नेतृत्व गर्नेगरी जनमत दिएको स्वीकार गर्दै शर्माले कांग्रेसलगायतका मूलधारका दलहरूप्रति जनताको विश्वास किन गुम्दै गयो भन्ने विषयमा गम्भीर समीक्षा हुने बताउनुभएको हो । उहाँले तत्कालीन महामन्त्री र हालको नेतृत्वको रूपमा पार्टीलाई रूपान्तरण गर्न नसकेको कमजोरी आफूले स्वीकार गर्ने स्पष्ट पार्नुभयो । 

शर्माले निर्वाचनमा सामेल भएर लोकतन्त्रलाई बलियो बनाउन मतदान गर्ने सम्पूर्ण मतदातालाई कांग्रेस पार्टीको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो । पार्टीले विशेष महाधिवेशनमार्फत आफूलाई बदलेको सन्देश जनतामा लिएर जाने प्रयास गरे पनि त्यसका लागि पर्याप्त समय नपाएको उहाँको गुनासो छ । 

विशेष महाधिवेशन सकिएको ५० दिन पुग्दा नपुग्दै निर्वाचनमा जानुपरेको उल्लेख गर्दै उहाँले कांग्रेसको अवस्थालाई ’इन्जुरी टाइम’ मा मैदानमा उत्रिएको खेलाडी र भर्खरै अस्पतालबाट डिस्चार्ज भएर रेस्लिङ खेल्न पठाइएको बिरामीसँग तुलना गर्नुभयो ।

उहाँले यी सबै प्रतिकूलताका बाबजुद जनतालाई बुझाउन नसकेकोमा आत्मालोचना गर्दै पार्टीलाई रूपान्तरण गरेरै छोड्ने दृढता व्यक्त गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.