
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ सोविता गौतमले आफ्नो पार्टी नेतृत्वको नेपाली जनताको युगौं युगदेखिको समस्या समाधान हुनेगरी काम गर्ने बताउनुभएको छ ।
चितवन क्षेत्र नम्बर ३ बाट भारी मतले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएलगत्तै उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । नेतृ गौतमले आफ्नो पार्टीले अब सरकार बनाउने र मुलुक निर्माणको अभियानमा केन्द्रित भएर काम गर्ने समेत आश्वासन दिनुभयो ।
नेतृ गौतमले नेपाली जनताले आफ्नो पार्टीलाई विश्वास गरेर निर्वाचित गराएको उल्लेख गर्दै सोही विश्वासको आधारमा काम गर्ने समेत बताउनु भयो । उहाँले भन्नुभयो, ‘अब धेरै बोल्ने समय छैन । अब सरकार निर्माण गर्ने र नेपाली जनताको मुद्दा समाधान गरेर युगौंयुगसम्म पनि नेपाली जनताले अब गुनासो गर्नु नपर्नेगरी नेपाली समाज निर्माणमा प्रतिबद्ध रहने काम हुनेछ । अब संसद् भवनमा गएर नेपाली जनताले अब समस्या भोग्नु नपर्ने गरी देश बनाउन म अगाडि बढ्नेछु ।’
त्यस अवसरमा नेतृ गौतमले निर्वाचनमा आफूलाई विजयी गराउने आम मतदाताप्रति पनि आभार व्यक्त गर्नुभयो ।