काठमाडौंका तीन क्षेत्रमा रास्वपा विजयी, मुस्ताङ र मनाङमा कांग्रेस, रूकुमपूर्वमा दाहाल

फाल्गुन २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
काठमाडौंका तीन क्षेत्रमा रास्वपा विजयी, मुस्ताङ र मनाङमा कांग्रेस, रूकुमपूर्वमा दाहाल

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको नतिजा आउने क्रम सुरु भएको छ । 

हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं १, ६ र ८ निर्वाचन क्षेत्रमा विजयी भएको छ । नेपाली कांग्रेस मनाङ र मुस्ताङमा र नेकपा रुकूमपूर्वमा विजयी भएको छ । काठमाडौ क्षेत्र न‌म्बर १ बाट रास्वपा उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) १५ हजार ४ सय ५५ मतसहित विजयी हुनुभएको हाे । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रबल थापालाई पराजित गर्नुभयो ।

रञ्जुले १५ हजारबढी मत पाउँदा ६ हजार ३ सय ६४ मत थापाले पाउनुभयो । अघिल्ला दुई निर्वाचनमा झिनो मतान्तरले पराजित हुँदै आउनुभएका राप्रपाका रविन्द्र मिश्रले ३ हजार ९ सय ७२ मत मात्रै प्राप्त गर्नुभयो । वैकल्पिक राजनीतिक धारको नेतृत्व गर्दै राजनीतिमा सक्रिय हुनुभएकी न्यौपाने निर्वाचनअघि विवेकशील साझा पार्टीबाट रास्वपामा प्रवेश गर्नुभएको थियो । 

यसअघि २०७४ मा उहाँ २१ वर्षकै उमेरमा काठमाडाैं महानगरको प्रमुख प्रत्यासी हुनुहुन्थ्यो । उहाँ विवेकशील साझा पार्टीकी पूर्वमहासचिव समेत हुनुहुन्थ्यो । विजयी भएसँगै उहाँले विवेकशील र वैकल्पिक राजनीतिको जित भएको बताउनुभएको छ ।

यता नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । कांग्रेसका योगेश गौचनले एमालेका इन्द्र धारा विष्टलाई हराएर जित निकाल्नु भएको छ । उहाँ अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि विजयी हुनुभएको थियो । नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरासमेत रहेका उहाँले १ हजार ५ सय १ अन्तरले जित निकाल्नु भएको हो । 

गौचनले ३ हजार ३ सय ७ मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी विष्टले १ हजार ८ सय ६ मत पाउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीय चन्द्र थकालीले ७ सय ५९ मत पाउँदा अरू दल निकै कम अंकमा समेटिए । मुस्ताङबाट शेरचन २०७९ को निर्वाचनमा पनि विजयी हुनु भएको थियो। 

योगेश थासाङ गाउँपालिका लेतेका बासिन्दा हुनुहुन्छ। उहाँ पर्यटन व्यवसायी र होटल व्यवसायी पनि हुनुहुन्छ । यता मनाङमा पनि टेकबहादुर गुरुङ विजयी हुनुभएको छ । यसअघि २०७९ को निर्वाचनमा पनि विजय हुनुभएको गुरुङ यसपटक २ हजार ४ सय १५ मतले जित्नुभएको हो । 

उहाँले नेकपाका यशोदा गुरुङलाई पराजित गर्नुभएको छ । पुर्वमन्त्री समेत भइसक्नुभएको गुरुङ पर्यटन व्यवसायीसमेत हुन् । यस्तै रास्वपाकै विराजभक्त श्रेष्ठ काठमाडौं ८ बाट २२ जना उम्मेदवारलाई पछि पार्दै २४ हजार ५ सय ९२ मतसहित विजयी हुनुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सपना राजभण्डारीले ३२ सय १७ मत प्राप्त गर्नुभयो । २०७४ देखि संसदीय राजनीति सुरु गरेका विराजभक्त श्रेष्ठ विवेकशील साझा पार्टीबाट राजनीति सुरु गर्नुभएको हो । उहाँ यसै पार्टीबाट २०७४ मा बागमती प्रदेशसभा सदस्यसमेत हुनुहुन्थ्यो । २०७९ को निर्वाचनमा रास्वपा प्रवेश गरी काठमाडौ ८ बाटै विजय हुनुभएका श्रेष्ठ यसपटकको निर्वाचनमा झन धेरै मत ल्याएर विजयी हुनुभयो ।

यसैगरी रास्वपाका शिशिर खनाल काठमाडौं ६ बाट २७ हजार ९ सय १६ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका सबुज बानियाले ६ हजार ६ सय ४७ मत ल्याउनुभयो । खनालले यसअघि पनि रास्वपाबाटै यही क्षेत्रमा जित्नुभएको थियो ।

रुकुमपुर्वबाट ११ हजार २ सय ८२ मत सहित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल विजयी हुनुभएको छ । उहाँले एमालेका लिलामणी गौतमलाई पराजय गर्नुभएको हो । २०६४ को पहिलो संविधानसभा निर्वाचनपछि गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री बन्नुभएको थियो पुष्पकमल दाहाल । 

त्यसपछि २०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा काठमाडौ १० र सिराह ५ बाट उम्मेदवार बन्नुभएका उहाँ सिराहबाट मात्रै निर्वाचित हुनुभयो । मुलुक संघीयतामा गएपछिको पहिलो निर्वाचन २०७४ मा दाहाल चितवन ३ नम्बर क्षेत्रबाट विजयी हुनुभयो भने २०७९ को निर्वाचनमा गोरखा २ बाट निर्वाचित हुनुभयो । 

 यसपटक पनि निर्वाचन क्षेत्र परिवर्तन गरेर उहाँ रुकुम पुर्व पुग्नुभएको हो । चार पटकको संसदीय निर्वाचनमा उहाँ ४ पटक नै प्रधानमन्त्री बन्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.