
काठमाडौं । जेन-जी आन्दोलनपछि भएको निर्वाचनको प्रारम्भिक मतगणनाले देशभर राष्ट्रिय स्वतन्त्र पार्टीको उभार देखिएको छ ।
चुनावअघिदेखि नै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नेपालको चुनावलाई प्राथमिकता दिँदै आएका छन् । विशेषगरी र्याप गायक पृष्टभूमिका रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह उनीहरूका लागि चासो बन्नुभएको छ । उहाँबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले कस्तो चर्चा गरेका छन् त ?
एशोसियट प्रेस (एपी)ले नेपालमा भएको निर्वाचनमा बालेन्द्र शाह प्रभावशाली व्यक्तिका रूपमा उदाएको उल्लेख गरेको छ । शाहले आफ्नो चुनावी अभियानका क्रममा स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारमा जोड दिएको उल्लेख गर्दै एपीले जेन-जी आन्दोलनका माग सम्बोधन गर्नुपर्ने, भ्रस्टाचारसँग जुध्नुपर्ने तथा भारत र चीनसँगको सम्बन्धलाई सन्तुलित राख्नुपर्ने चुनौती निर्वाचनपछिको सरकारलाई हुने विश्लेषण गरेको छ ।
बीबीसीले भ्रष्टाचार, आर्थिक कठिनाइ र असमानता यस चुनावको मुख्य मुद्दा बनेको जनाएको छ । यहीकारण भदौमा आन्दोलन हुँदा ७७ जनाको ज्यान गएको बीबीसीमा उल्लेख छ । झापा-५ मा शाह र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको भिडन्त विशेष चर्चामा रहेको जनाउँदै बीबीसीले भनेको छ, ‘यदि बालेनले जिते भने यसले निष्क्रिय बनेको नेपालको शासन प्रणालीमा धक्का दिनेछ ।
बेलायती सञ्चारमाध्यम गार्जियनले ‘पुरानाविरुद्ध शक्तिशाली युवा अभियानको लडाइँमा नेपालीहरूले मत खसाल्दै’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । युवा उम्मेदवारहरूले नेपालको कमजोर अर्थतन्त्रलाई सुधार गर्ने, दशकौंदेखि सत्तामा रहेका पुराना नेताहरुलाई चुनौती दिने र स्थायित्व तथा सुरक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको गार्जियनले उल्लेख गरेको छ ।
रोयटर्सले ‘युवा नेतृत्वको प्रदर्शनपछि मतदाताले परिवर्तन खोज्दै’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । कृषिप्रधान देश नेपालमा बेरोजगारी र भ्रष्टाचार मौलाएको, एमाले, कांग्रेस र नेकपा पछिल्ला तीन दशकमा नेपाली राजनीतिको केन्द्रमा रहेको र यसक्रममा ३५ वर्षमा ३२ पटक सरकार परिवर्तन भएको समाचारमा उल्लेख छ । तर, यसपटकको चुनावमा तीन वर्षको इतिहास भएको रास्वपाले र्यापरबाट राजनीतिज्ञ बनेका बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको रोयटर्सले उल्लेख गरेको छ ।
ब्लुमबर्गले पनि नेपालका युवा र्यापर बालेन पुराना नेतासँग लडाँइमा’ शीर्षकमा समाचार छापेको छ । जर्मन सञ्चारमाध्यम डिडब्ल्युले ‘साँचो राजनीतिक सुधारको आशमा जेन-जी’ शीर्षकमा समाचार छापेको छ । तर, यस निर्वाचनमा जेन-जी पुस्ताका उम्मेदवारहरुको संख्या निकै कम रहेको तथ्य पनि यसले समावेश गरेको छ ।
केही दिनदेखि नै अलजजिरा, फाइनान्सियल टाइम्स, सीबीसी न्युज, टाइम्स अफ इन्डियालगायत सञ्चारमाध्यमले नेपालका युवामाझ बालेन लोकप्रिय रहेको विश्लेषण गरेका थिए । नेपालमा मौन अवधि चलिरहँदा सीएनएन, वर्ल्ड प्रेस जर्नललगायतले बालेन प्रधानमन्त्री पदको सशक्त दाबेदार रहेको भन्दै समाचार प्रकाशित गरेका थिए ।
रुसी सरकारी सञ्चारमाध्यम आरटीमा मौन अवधिकै समय प्रकाशित विश्लेषणमा नेपालका पुराना पार्टीहरुले पपुलिस्टको बाढीको सामना गरेको उल्लेख छ । बेलायतकै द टेलिग्राफमा प्रकाशित समाचारमा भने बालेनले नदी किनारबाट गरिबहरुलाई लखेटेको उल्लेख गरेको छ ।


