
दार्चुला । जिल्लाका दुर्गम क्षेत्रका मतपेटिका हेलिकप्टरबाट ढुवानी सकिएपछि सर्वदलीय बैठक सम्पन्न भएको छ ।
बैठकले जिल्लामा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना शुक्रबार बेलुकी ७ बजेदेखि सुरू गर्ने निर्णय गरेको छ । मुख्य निर्वाचन अधिकृत भुवन गिरिकाअनुसार सर्वदलीय बैठकपछि मतगणनाको सम्पूर्ण तयारी पूरा गरिएको छ ।
राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार तथा सरोकारवालाको उपस्थितिमा भएको बैठकले मतगणना प्रक्रिया व्यवस्थित रूपमा अघि बढाउने सहमति गरेको हो । बिहीबार सम्पन्न भएको मतदानमा दार्चुला जिल्लामा ५३.७६ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाभर ४९ हजार ९६८ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।
सर्वदलीय बैठकले प्रारम्भिक चरणमा जिल्लाका विभिन्न स्थानीय तहबाट प्राप्त मतपेटिकाको मतगणना सुरू गर्ने निर्णय गरेको छ । जसअनुसार सुरूमा ब्यास, दुहुँ, शैल्यशिखर, महाकाली, लेकम, नौगाड, मार्मा, अपिहिमाल र मालिकार्जुन गाउँपालिकाको मतगणना गरिने मुख्य निर्वाचन अधिकृत गिरिले जानकारी दिनुभयाे ।
मतगणनालाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन आवश्यक सुरक्षासहितको व्यवस्था मिलाइएको छ । मतगणना स्थलमा सुरक्षाकर्मी, कर्मचारी तथा दलका प्रतिनिधिको उपस्थितिमा मतगणना गरिने बताइएको छ । जिल्लामा मतपेटिका संकलनको काम पनि सम्पन्न भइसकेको छ ।
सबै स्थानीय तहबाट मतपेटिका सुरक्षित रूपमा सदरमुकाम ल्याएर मतगणनास्थलमा राखिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताउनुभयाे ।