
स्याङ्जा । निर्वाचन आयोगले स्याङ्जा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा देखिएको विवादपछि मतगणनाको विषयमा निर्देशन दिएको छ ।
आयोगले जिल्ला निर्वाचन कार्यालय स्याङ्जालाई पत्र पठाउँदै मतगणनाका सम्बन्धमा सर्वदलीय बैठक राखेर निर्णय गर्न निर्देशन दिएको हो । आयोगका अनुसार मतगणनाको विषयमा सम्बन्धित पक्षबीच सहमति जुटाएर मात्र मतपत्र गणना गर्ने वा नगर्नेबारे निर्णय गर्न भनिएको छ ।
सहमति नभए बहुमत वा द्विपक्षीय सहमति गरेर गणना प्रक्रिया अघि बढाउन सकिने उल्लेख गरिएको छ । त्यसैगरी आयोगले आवश्यक सुरक्षा प्रबन्ध मिलाएर यथाशीघ्र मतगणना कार्य सुरू गर्न पनि निर्देशन दिएको छ। यसअघि स्याङ्जा-२ को वालिङ नगरपालिका-१० स्थित बालज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान अधिकृतको हस्ताक्षर नभएका १ सय ७१ मतपत्र भेटिएपछि विवाद उत्पन्न भएको थियो। सोही विवादका कारण मतगणना प्रक्रिया रोकिएको थियो ।