प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी, ७७ स्थानमा रास्वपाकाे अग्रता

फाल्गुन २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी, ७७ स्थानमा रास्वपाकाे अग्रता

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको मतगणना अपडेट आउने क्रम जारी रहेको छ । 

प्रारम्भिक मतगणनाको अपडेटअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी देशभर हावी भएको छ । रास्वपाले मतगणना सुरू भएकामध्ये ७७ स्थानमा अग्रता लिएको छ । यसैगरी अघिल्लो संसद्को पहिलो दल नेपाली कांग्रेसले ८ स्थानमा अग्रता लिएको छ । एमाले ७ ठाउँमा अगाडि छ भने नेकपा ६ र अन्य दल २ स्थानमा अगाडि छन् । 

मतगणना भइरहेको काठमाडौंका ९ वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । चितवन २ मा सभापति रवि लामिछानेले अग्रता लिनुभएको छ भने झापा ५ मा वरिष्ठ नेता बालेन्द्र शाह र झापा २ मा पूर्वउपसभामुख इन्दिरा रानामगरको अग्रता कायमै छ । 

काठमाडौं २ मा सुनिल केसी, काठमाडौं ३ मा राजुनाथ पाण्डे, काठमाडौं ४ मा पुकार बम, काठमाडौं ५ मा सस्मित पोखरेल, काठमाडौं ६ मा रास्वपाका शिशिर खनाल राम्रो मतान्तरले अगाडि हुनुहुन्छ । काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ८ विराजभक्त श्रेष्ठले अग्रता लिनु भएको छ । यसैगरी काठमाडौं ९ मा डीपी अर्याल र काठमाडौं १० मा प्रदीप विष्टले अग्रता कायम गर्नुभएको छ ।

भक्तपुरको दुवै निर्वाचन क्षेत्रमा रास्वपाले अग्रता लिएको छ । भक्तपुर १ मा रुकेश रञ्जित र भक्तपुर २ मा राजीव खत्रीले अग्रता लिनुभएको छ । यसैगरि मोरङ १ मा यज्ञमणी न्यौपाने, मोरङ ४ मा सन्तोष राजवंशी, मोरङ ५ मा आशा झा, धनुषा ३ मा मनिष झा, रौतहट ४ मा गणेश पौडेल, बारा ३ मा अरविन्द साह, ललितपुर २ मा जगदीश खरेलले अग्रता लिनु भएको छ । 

यसैगरी चितवन ३ मा सोविता गौतम, कास्की १ मा खडकराज पौडेल, कास्की २ मा उत्तमप्रसाद पौडेल कास्की ३ मा बिना गुरुङ, रूपन्देही २ मा सुलभ खरेल, रूपन्देही ३ मा लेखजङ्ग थापा, दाङ १ मा देवराज पाठक, बाँके १ मा सुरेशकुमार चौधरी, बाँके ३ मा खगेन्द्र सुनार र कञ्चनपुर २ मा दिपकराज बोहराले अग्रता लिनुभएको छ ।

नेपाली कांग्रेसले ८ स्थानमा अग्रता लिएको छ । तेह्रथुम १ मा सन्तोष सुब्बा, ललितपुर १ मा उदयशमसेर राणा, कपिलवस्तु ३ मा अभिषेक प्रताप शाह, दैलेख १ मा बासना थापा, सुर्खेत १ मा विष्णुबहादुर खड्का, कैलाली १ मा जनकराज चौधरी र कैलाली २ मा विजय स्वाँरले अग्रता लिनुभएको छ ।

एमाले ४ स्थानमा अगाडि छ । चितवन १ मा दावादोर्जे लामा, म्याग्दी १ मा हरिकृष्ण श्रेष्ठ, रूपन्देही ४ मा प्रमोदकुमार यादव, बाँके २ मा मोहम्मद इस्तियाक राई र सुर्खेत २ मा कुलमणि देवकोटा अग्रस्थानमा विजयी हुनुहुन्छ । देशका विभिन्न स्थानमा मतपेटिका संकलनमा ढिलाइ हुँदा धेरै क्षेत्रमा मत गणना सुरु भएको छैन । 

बिहीबार साँझ मतदान सम्पन्न भएर मतपेटिका संकलन भइसकेका अधिकांश क्षेत्रमा शुक्रबार सर्वदलीय बैठक बसेर गणनाको तयारी भइरहेको हाम्रा संवाददाताहरूले जानकारी दिएका छन् । त्यसैगरी विकट क्षेत्रका केन्द्रहरुबाट भने शुक्रबार मात्र मतपेटिका संकलन गर्ने तयारी भइरहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.