
काठमाडौं । नेकपा (एमाले)को महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल पक्षका नेताहरूले आ-आफ्नो समूहको विजय सुनिश्चित भएको दाबी गर्न थालेका छन् ।
महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओली पक्षका नेता महेश बस्नेतले विषम परिस्थितिमा ओलीको विकल्प नभएको दाबी गर्नुभयो । ओली पक्षले बस्नेतलाई सचिवको उम्मेदवारका रूपमा अघि सारेको छ ।
ओली समूहबाट उपाध्यक्षका रूपमा अघि सारिनुभएका पृथ्वीसुब्बा गुरूङ्गले ओली र ईश्वर पोखेरलबीच सहमतिको ढोका बन्द भएको बताउनु भयो । नेता गुरूङले महाधिवेशनमा हुने प्रतिस्पर्धालाई लिएर पार्टी नफुट्ने दाबी पनि गर्नुभएको छ ।
एमाले प्रतिस्पर्धामा विश्वास गर्ने पार्टी भएकाले पराजित हुनेहरूले पार्टी छोड्ने काम नगर्ने जिकिर पनि उहाँले गर्नुभयो । उहाँले पार्टीलाई अझ सशक्त, अझ सुदृढ बनाउनका लागि नेतृत्व चयन प्रतिस्पर्धाका आधारमा गर्ने निर्णय गरिएको पनि स्पष्ट पार्नुभयो ।