एमालेकाे अध्यक्ष पदका लागि केपी ओली र ईश्वर पोखरेलद्वारा उम्मेदवारी दर्ता

अन्तिम नामावली प्रकाशन साढे ६ बजे
मंसिर २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमालेकाे अध्यक्ष पदका लागि केपी ओली र ईश्वर पोखरेलद्वारा उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा (एमाले)को अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । 

काठमाडौंको भृकुटीभण्डपमा जारी महाधिवेशनको बन्द सत्रमा उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो । एमाले निर्वाचन आयोगका अनुसार २२ सय ६५ प्रतिनिधि छान्नका लागि १६ सयभन्दा बढी फारम वितरण भएका छन्। संशोधित कार्यतालिकाअनुसार दरखास्त दर्ता सम्पन्न भएपछि केहीबेरमै उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ ।

त्यसपछि उम्मेदवारहरूको प्रारम्भिक नामावली उपर उजुरी दिने समय सुरू हुने छ । उजुरी दिने समय दिउँसो ४ देखि साढे ४ बजेसम्म तोकिएको छ । उजुरीमाथि जाँचबुझ लगायतका प्रक्रिया पूरा गरेपछि साेमबार साँझ साढे ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ । मंगलबार पुस १ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म नयाँ कार्यसमिति चयनका लागि मतदान गर्ने गरी कार्यतालिका तयार पारिएको छ । २ हजार २ सय ६२ जना प्रतिनिधिले नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।

यसैबीच अध्यक्षका उम्मेदवारहरू केपी शर्मा ओली र ईश्वर पोखरेलले आ-आफ्ना प्यानलको सूची सार्वजनिक गरेर निर्वाचन अभियान अघि बढाएका छन् । अध्यक्ष ओली प्यानलको उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वी सुब्बा गुरूङ र प्रदीप ज्ञवाली रहेका छन् भने महासचिवमा शंकर पोखरेललाई नै दोहोर्‍याइएको छ । 

यस्तै, उपमहासचिवमा विष्णु रिमाल, लेखराज भट्ट र रघुवीर महासेठ तथा सचिवमा भानुभक्त ढकाल, पद्मा अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई, खगराज अधिकारी र महेश बस्नेत छन् । यसैगरी ईश्वर पोखरेल समूहमा उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, बिन्दा पाण्डे र परशुराम मेघी गुरुङ रहेका छन् । महासचिवमा सुरेन्द्र पाण्डे तथा उपमहासचिवमा योगेश भट्टराई रहेका छन् । सचिव पदका लागि पोखरेल समूहबाट विनोद ढकाल, ठाकुर गैरे, गोकुल बाँस्कोटा, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा र रचना खड्का रहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.