भूकम्पको ९ वर्ष बित्दा पनि सकिएन पुनर्निर्माण

शिक्षा, स्वास्थ्य र पुरातात्विक सम्पदा क्षेत्रको काम सुस्त
क्षति न्यूनीकरण र व्यवस्थापनमा सरकारको बेवास्ता
वैशाख १२, २०८१ |जितेन्द्र झा
भूकम्पको ९ वर्ष बित्दा पनि सकिएन पुनर्निर्माण

काठमाडौं । २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पको ९ वर्ष पूरा भइसकेको छ । भूकम्पले झण्डै ९ हजार जनाको ज्यान लियो भने लाखौं संरचनामा क्षति पुग्यो । भूकम्पले ८ सय ८१ अर्ब बराबरको क्षति भएको अनुमान गरिएको छ । तर, त्यसबेला भत्किएका पूर्वाधारको पुनर्निर्माण अझै सकिएको छैन । उक्त दिनको त्रासदी धेरै नेपालीको मानसपटलमा अझै छ । धेरै जनधनको क्षति भएको त्यो विपदबाट नेपालले कति पाठ सिक्यो ?

२०७२ वैशाख १२ । शनिबार भएकाले विद्यालय बन्द थिए, सरकारी कार्यालय चलेका थिएनन् । मानिसहरु बिदाको मूडमा थिए । घडीले ११ बजेर ५६ मिनेट बजाएको थियो । गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ६ म्याग्निच्युडको यो भूकम्प १९९० यताकै विनासकारी थियो । भूकम्प र त्यसपछिका परकम्पहरुबाट नेपालले ठूलो क्षति व्यहोर्नु पर्‍यो । झन्डै ९ हजार जनाको मृत्यु भयो भने २ हजार गम्भीर घाइते भए । ८ सय ८१ अर्बको क्षति भयो । भूकम्पले ११ लाख निजी घर, ५ हजार विद्यालय, स्वास्थ्य संस्था र सांस्कृतिक सम्पदाहरुमा पूर्ण क्षति पुर्‍यायो ।

सरकारले क्षतिग्रस्त भवन तथा सम्पदाहरुको पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेर काम अगाडि बढायो । अवधि समाप्त भएपछि प्राधिकरण २०७८ पुसमा खारेज भइसकेको छ । तर पुनर्निर्माणको काम भने अझै सकिएको छैन । प्राधिकरण खारेजपछि निर्माणको जिम्मा सम्बन्धित निकायलाई दिइए पनि काम सुस्त छ । 

शिक्षा मन्त्रालयअन्तर्गतका विद्यालयलगायतका ७ हजार ६ सय ७७ संरचना पुनर्निर्माण गर्नुपर्नेमा ७ हजार पाँच सय त्रिहत्तर वटाको मात्र काम सकिएको छ । यस्तै, पुरातत्व विभागअन्तर्गत ९ सय २० वटा पुरातात्विक सम्पदाको निर्माण गर्नुपर्ने दायित्व प्राधिकरणबाट आएकोमा ४ सय ७० वटाको मात्र सकिएको छ । विभागलाई प्राधिकरणले २ सय १५ वटा गुम्बाको पुनर्निर्माणको जिम्मेबारी सुम्पेको थियो ।

तीमध्ये दुई सय वटा गुम्बाको पुनर्निर्माण सुरु नै हुन सकेको छैन । सहरी विकास तथा भवन निर्माण विभागका अनुसार निजी आवास पुनर्निर्माणको काम झण्डै ९० प्रतिशत सकिएको छ । सरकारी भवनको पुनर्निर्माणलाई प्राथमिकता दिइए पनि शिक्षा, स्वास्थ्य र पुरातात्विक सम्पदा निर्माणको काम भने सुस्त छ । नेपाल भूकम्पीय जोखिमका हिसाबले विश्वमा एघारौं स्थानमा छ । विज्ञकाअनुसार नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको तथ्य वैज्ञानिक अनुसन्धानले पनि औंल्याएको छ ।

तर ठूला विनाशकारी भूकम्प भोगिसकेको नेपालले भने आफ्नै अनुभवबाट सिक्न नसकेको भूकम्पीय अध्ययनमा संलग्न विज्ञको भनाइ छ । विपद् आएपछि गम्भीर रुपमा लिएजस्तो देखिए पनि समय घर्किएसँगै भविष्यमा हुनसक्ने क्षति न्यूनीकरणका लागि भने खासै पहल भएका छैनन् । सरकारले विपद् जोखिम न्यूनीकरणका लागि बनाएको विपद् प्राधिकरणमा पनि बजेट र दक्ष जनशक्ति व्यवस्थापनमा सरकारले ध्यान नदिँदा प्रभावकारी हुन सकेका छैनन् । 

संघदेखि स्थानीय तह, कुनै पनि निकाय विपद् व्यवस्थापनमा सचेत छैनन् भन्ने कुरा जाजरकोटसहितका पछिल्ला भूकम्पका घटनाले देखाएका छन् । खोज र उद्धारमा केही सन्तोष मान्न सकिने ठाउँ भए पनि भूकम्पपछिको व्यवस्थापन सुस्त र प्रभावहीन देखिएका छन् । जाजरकोट भूकम्पको ५ महिना बितिसक्दा पनि पीडितका लागि स्थायी संरचना बनाउनेतर्फ पहलै हुन सकेका छैनन् । विगतबाट पाठ सिक्न सक्दैनौं भने आगामी दिनमा निम्तिने विपद्को सामना कसरी गर्न सक्छौं ? सबैभन्दा चिन्ताको प्रश्न यही हो । 


Image

जितेन्द्र झा

झा कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।