देशका विभिन्न स्थानमा डढेलो र आगलागी

वैशाख ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
देशका विभिन्न स्थानमा डढेलो र आगलागी

काठमाडौं । देशका विभिन्न स्थानमा लागेको डढेलो र आगलागीले ठूलो क्षति भएको छ । गुल्मी, पाल्पा, अर्घाखाँची, रोल्पालगायत जिल्लाका विभिन्न ठाउँमा डढेलो र आगलागी भएका हुन् ।

गुल्मीको इस्मा गाउँपालिका २ मा आगलागी हुँदा ३८ घरगोठ जलेका छन् । स्थानीय सामुदायिक वनमा लागेको डढेलो बस्तीमा फैलिँदा १३ घर र २५ गोठ जलेका हुन् । इस्मा गाउँपालिकाका अन्य ठाउँमा पनि आगलागी भइरहेको छ । क्षतिको विवरण संकलन हुने क्रम जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो ।

गुल्मीको छत्रकोट १, हुंगामा पनि आगलागी भएको छ ।

यस्तै अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको धारापानीको रातामाटा, बाँझाखर्क, जामुनडाँडा र फलामखिल्जी गाउँमा आगलागी हुँदा २० वटा घरगोठ जलेका छन् ।

भूमिकास्थान नगरपालिकाको वडा ३ र ४ मा अत्याधिक हावाहुरीका कारण जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा २० वटा घरगोठ जलेको स्थानीय हरिप्रसाद भुसालले जानकारी दिनुभयो ।

यस्तै पाल्पाका ३० भन्दा बढी स्थानमा डढेलो लागेको छ । डढेलो बस्तीमा समेत सल्किँदा १० वटा घर-गोठ जलेको कान्तिपुर सहकर्मीले जनाएका छन् ।

यसैगरी रोल्पाको लुंग्री गाउँपालिका १, पाङस्थित जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा आठवटा घर र तीनवटा गोठ जलेर नष्ट भएका छन् । सोही वडाको रिरिप जंगलमा लागेको आगो बस्तीमा पसेको हो । आगलागीबाट लत्ताकपडा, खाद्यान्नलगायत केही पशुचौपाया जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख (डीएसपी) भरत लामाले जानकारी दिनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement