इद उल फित्र पर्वको महत्त्व के छ ?

चैत्र २९, २०८० |जे पाण्डे
इद उल फित्र पर्वको महत्त्व के छ ?

बाँके । एकमहिने रमजान पर्व समापन भएको अवसरमा मुस्लिम समुदायले विशेष नमाज पाठ गरी इद उल फित्र पर्व मनाएका छन् । यो पर्व मनाएपछि रमजानको एकमहिने व्रत सकिन्छ । इदको मुख्य अर्थ नै खुसी मनाउनु हो । खुसीपूर्वक गरिबलाई दान गरिने भएकाले सो पर्वलाई इद उल फित्र भनिएको हो ।

नेपालगन्जसहित देशभरका इस्लाम धर्मावलम्बीले इद उल फित्र मनाएका छन् । इस्लामिक पात्रो हिजरी संवत्‌अनुसार रमजान महिनाको रोजा अर्थात एक महिनाको व्रत सकिएपछि मुस्लिम समुदायले खुसियाली साट्दै इद मनाउँछन् । इश्वी संवत् ६२४ मा पहिलोपटक इद-उल-फित्र मनाइएको थियो । यस पर्वलाई मुस्लिमहरुले निकै श्रद्धापूर्वक मनाउने गर्छन् ।

रमजान सम्पन्न भएको उपलक्ष्यमा इस्लाम धर्मावलम्बिहरुले बिहान इदगाह र मस्जिदहरुमा सामुहिक रुपमा ईश्वरको प्रार्थना गरे । रमजान महिना भरीको लामो उपवास र चन्द्रमाको दर्शन गरेपछि सम्पन्न हुन्छ । यो बेला देखिने चन्द्रमालाई ‘इदका चाँद’ भनिन्छ । मुस्लिमहरुले यो पर्वमा निष्ठासाथ धार्मिक नियम पालना गर्छन् । इदका अवसरमा भएको आफ्नो क्षमताअनुसार दान गर्दा बाँकी सम्पत्ति शुद्धीकरण हुने विश्वास रहेको सामाजिक अभियन्ता मोहम्मद जुवेर राई बताउँछन् ।

विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । इदको दिन नमाज पढेर उनीहरुले अल्लाहलाई धन्यवाद दिन्छन् । इदमा मुस्लिम समुदायका मानिसले थरीथरीका स्वादिष्ट परिकार बनाउँछन् । नयाँ कपडा लगाउँछन् । नमाज पढ्न मस्जिद जाने गर्छन् । साथै एक-अर्कोलाई अँगालो हारेर इदको शुभकामना दिन्छन् । आफ्नो हैसियतअनुसार यस दिन उनीहरुले असाहाय, गरिबहरुलाई दान दिनुपर्ने हरेक मुस्लिमहरुको कर्तव्य नै हुन्छ ।

अरबी पात्रो हिजरी संवत्‌अनुसार इद वर्षको दुईपटक मनाइन्छ । विभिन्न भनाइअनुसार, पैगम्बर हजरत मुहम्मदले बद्रको युद्धमा सानदार विजय हासिल गरेका थिए । यस युद्धलाई जितेको खुसीमै मुस्लिम समुदायहरुले इद मनाउन सुरु गरेका हुन् ।

यो पनि...

मनाइयो इद उल फित्र

काठमाडौंमा इद (फोटो फिचर)


Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।