किन जटिल बन्दै छ डढेलो नियन्त्रण ?

विपद् जोखिम न्यूनीकरणमा तीनै तहका सरकारको प्रयास प्रभावकारी भएन
चैत्र २८, २०८० |विकास आचार्य
किन जटिल बन्दै छ डढेलो नियन्त्रण ?

काठमाडौं । वायु प्रदूषण मापदण्डमा काठमाडौँ आज सबैभन्दा बढी प्रदूषित सहरमा परेको छ ।

देशभर वन डढेलोका घटना बढिरहेका बेला यसले धनजनको क्षति बढाइरहेको छ भने वायु प्रदूषण पनि बढिरहेको छ । वन डढेलोका कारण यो वर्ष ४ हजार ३ सय १३ वटा घटना भएका छन् । यसमा परेर १ सय १० जनाको मृत्यु भैसकेको छ भने २ अर्ब ४० करोड बराबरको आर्थिक क्षति भएको । तीनै तहका सरकारको विपद् जोखिम न्यूनीकरण प्रयास प्रभावकारी नहुँदा नागरिकले बर्सेनि सास्ती र क्षति बेहोर्दै आएका छन् । 

डोल्पाको ठूलीभेरी नगरपालिकामा पर्ने मस्टा भवानी सामुदायिक वनमा ४ दिनदेखि लागेको डढेलो अझै निभेको छैन । सेना, प्रहरी र स्थानीयले नियन्त्रणको प्रयास गरिरहेका छन् । त्यसक्रममा देविदत्त गुल्मका ४ जवान घाइते भएकामा ३ जनाको मृत्यु भइसकेको छ । वनमा डढेलो लाग्नुको कारण मानवीय त्रुटि नै थियो । देविदत्त गुल्मको फोहोर जलाउने क्रममा वनमा आगो सल्किएको थियो । तर, भौगोलिक जटिलताका कारण निभाउन अझै केही दिन लाग्ने देखिएको छ । 

डोल्पामा मात्र होइन, हाल देशका ५१ जिल्लाका वन डढेलोको चपेटामा छन् । जसका कारण वन र पर्यावरणको विनाशसँगै जनधनको ठूलो क्षति भएको छ । 

जंगल छेउमा घर भएकाहरूको त लगाएको एकजोर कपडाबाहेक सबै नष्ट भएका छन् । सुगम क्षेत्रमा डढेलो नियन्त्रण गर्न केही सहज हुने भए पनि दुर्गममा टुलुटुलु हेरेर बस्नेबाहेक केही उपाय नरहेको स्थानीयको दुखेसो छ । 

नेपालमा अधिकांश डढेलो मानवीय त्रुटि, हेलचेक्र्याइँ र असावधानीका कारण लाग्ने गरेको छ । पछिल्लो समय सामुदायिक वनहरुमा नयाँ पालुवा पलाउन मल हुने भन्दै  पातपतिङ्गर जलाउने तथा निगुरो, च्याउ राम्रोसँग पलाउने आशामा आगो लगाउने गरेको अध्ययनले देखाएको छ । तर, त्यही आगोले जनधन र पशुचौपायको क्षतिसँगै वायु प्रदूषणसमेत बढाएको छ । डढेलोका कारण जनधनको क्षति त भएकै छ वायु प्रदूषण पनि बढिरहेको छ । वायु प्रदूषण बढी भएका सहरको सूचीमा मंगलबार दोस्रो स्थानमा रहेको काठमाडौँ बुधवार शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबारमात्रै २ सय २६ स्थानमा डढेलो लाग्दा ६ जनाको मृत्यु भयो भने ११ करोड बराबरको क्षति भयो । देशका तीनै तहका सरकारसँग विपद् जोखिम न्यूनीकरणका संयन्त्र छन्, तर तिनीहरू नाममात्रका छन् । न समयमा पूर्वतयारी गर्छन्, न डढेलोको सामना गर्न आवश्यक उपकरण नै उनीहरूसँग छ। यस्तो समयमा नागरिकको सचेतना एकदमै महत्त्वपूर्ण छ । 


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।