काठमाडौं उपत्यका विश्वकै दोस्रो प्रदूषित सहर

डढेलो, गाडीबाट निस्कने धुँवा र धुलो प्रमुख कारक
चिकित्सक भन्छन्- वायु प्रदूषणले क्यान्सरसम्म निम्त्याउने जोखिम छ
चैत्र २६, २०८० |कृपाल गौतम
काठमाडौं उपत्यका विश्वकै दोस्रो प्रदूषित सहर

काठमाडौं । केही दिन दिनदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानको आकाश धुम्मिन थालेको छ । खडेरीसँगै बढ्ने डढेलो र आगलागीका घटनाले वायु प्रदूषणको स्तर बढ्दा मानव स्वास्थ्यलाई नै असर पर्ने गरेको छ । प्रदूषण मापदण्डका आधारमा काठमाडौं उपत्यका आज विश्वकै दोस्रो प्रदूषित सहरका रुपमा सूचीकृत भयो । 

विश्वभर वायु प्रदूषणको अवस्था मापन गर्ने स्वीजरल्याण्डस्थित आइक्यू एयरका अनुसार सोमबार काठमाडौं उपत्यका विश्वकै दोस्रो प्रदूषित सहरका रुपमा सूचीकृत भयो । आइक्यु एयरले प्रदूषणको स्तर निर्धारण गरेको छ । जसअनुसार १ सय ५१ देखि २ सय एक्यूआईलाई अस्वस्थकर मानिन्छ । सोमबार काठमाडौंको रत्नपार्कमा एक्यूआई १ सय ८१ सम्म पुगेको वातावरण विभागले जनाएको छ । अर्थात् काठमाडौंको वातावरणमा मानव स्वास्थ्यलााई नकारात्मक असर पुर्‍याउने वस्तुहरुबढी पाइएको छ । पछिल्लो समय देशका विभिन्न स्थानमा लागेको डढेलो र सवारीसाधनबाट निस्कने हानीकारक धुवाँका कारण प्रदूषणको स्तर उच्च रहेको वातावरणविद् भूषण तुलाधरको भनाइ छ ।

चिकित्सकका अनुसार वायु प्रदुषणले जनस्वास्थ्यमा निकै प्रतिकूल असर पर्ने गर्छ । 'स्टेट अफ ग्लोबल एयर २०२०' का अनुसार नेपालमा वायु प्रदूषणका कारण बर्सेनि ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । वायु प्रदुषणले तात्कालीन समस्यादेखि क्यान्सरजस्ता दीर्घकालीनसम्मका समस्या निम्तने जोखिम रहेको छाति रोग विशेषज्ञ डा. अषेश ढुंगानाले बताएका छन् ।

विशेषगरी, रोग प्रतिरोधी क्षमता कम भएका, दीर्घरोगी, बालबालिका तथा गर्भवतीलगायतका जोखिम समूहले विशेष सावधानी अपनाउन जरुरी छ । २०७९ पुसमा विश्व बैंकले सार्वजनिक प्रतिवेदनअनुसार विश्वका १० प्रदूषित शहरमध्ये ९ वटा दक्षिण एसियामा छन्, त्यसमध्ये काठमाडौं पनि एक हो ।

काठमाडौं उपत्यकामा वायु प्रदूषणको मुख्य स्रोत यहाँ गुड्ने १० लाख सवारीसाधन हुन् । वातावरण विभागले देशका २७ स्थानमा वायु गुणस्तर मापन केन्द्र स्थापना गरे पनि ११ वटा मात्र सञ्चालनमा छन् । मर्मत अभावमा अरुले वायुको अवस्था देखाउँदैनन् । काठमाण्डौ उपत्यकामा बर्सेनि देखिने वातावरणको दुरावस्थालाई सम्बोधन गर्न सरकारले कुनैपनि प्रभाकारी कदम चाल्न सकेको छैन । संविधानमा वातावरणसम्बन्धी मौलिक हक राख्न सफल भएका दलहरु नेतृत्वमा गएपछि प्रदूषित वातावरणमा चिया गफ गर्दै पानी परेपछि सबै ठिक हुन्छ भनिरहेका भेटिन्छन् ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।