कर्णाली प्रदेशको राजधानीमै छैन आवश्यक पूर्वाधार

फाल्गुन २७, २०८० |कमल पन्त
कर्णाली प्रदेशको राजधानीमै छैन आवश्यक पूर्वाधार

सुर्खेत । कर्णाली प्रदेशको स्थायी राजधानी वीरेन्द्रनगर तोकिएको ६ वर्ष पूरा भयो । तर राजधानीका लागि आवश्यक पूर्वाधार भने अझै बनिसकेका छैनन् । गुणस्तरीय हवाई र सडक पूर्वाधार नै बन्न नसकेको प्रदेश राजधानी वीरेन्द्रनगरमा अहिले पनि खानेपानी, भरपर्दो विद्युत् र प्रादेशिक बसपार्कलगायतका संरचनाकै अभाव छ ।

वीरेन्द्रनगर प्रदेशको स्थायी राजधानी तोकिएपछि यहााका नागरिकले सोचेका थिए- अब विकास निर्माणले गति लिन्छ र वीरेन्द्रनगरको मुहार फेरिन्छ । तर स्थायी राजधानी बनेको ६ वर्षसम्म पनि वीरेन्द्रनगरको मुहार जस्ताको तस्तै छ । वैशाख-जेठमा खानेपानी हाहाकार नै हुने वीरेन्द्रनगरमा न गतिलो बसपार्क छ न त कर्णालीमा आन्तरिक उडान । झ्याप्पझ्याप्प गइरहने बत्ती, साँघुरा सडक, सानो बसपार्क र अस्तव्यस्त पार्किङ समस्या झेल्दै आएका प्रदेश राजधानीवासीले सार्वजनिक सभा, समारोहका लागि पनि उपयुक्त स्थान पाउन सकेका छैनन् ।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनाल भने राजधानीमा पूर्वाधार बन्न नसक्नुको दोष संघीय र प्रदेश सरकारलाई दिन्छन् । प्रदेश सरकारले एकीकृत प्रशासनिक भवनसमेत बनाउन सकेको छैन । छोटो समयमा धेरै काम गर्नुपर्ने भएकाले अहिले धमाधम पूर्णधार निर्माण भइरहेको दाबी प्रदेश सरकारका प्रवक्ता कृष्णबहादुर जीसीको छ ।

प्रदेशसभाका सदस्य घनश्याम भण्डारीले कर्णालीको न्यून आम्दानी, जनशक्ति अभाव र एकीकृत योजना नहुँदा पूर्वाधार निर्माणले गति लिन नसकेको बताए ।

आफ्नै संरचना नहुँदा कर्णाली प्रदेशसभाले तत्कालीन शैक्षिक तालिम केन्द्रको भवन नियन्त्रणमा लिएको छ । सरकारका मन्त्रालय र कार्यालयहरु तत्कालीन मध्यपश्चिम विकास क्षेत्रका संरचनामा चलिरहेको छ । राजधानी बनेपछि कर्णालीका विभिन्न जिल्लाबाट राजधानीमा बसाइँ सरेर आउनेहरुको चाप भने बढ्दो छ ।


Image

कमल पन्त

पन्त कान्तिपुर टीभीका सुर्खेत प्रतिनिधि हुन् ।