एक वर्षमा भएका ३० हजार ५ सयभन्दा बढी सवारी दुर्घटनामा करिब २ हजार व्यक्तिको मृत्यु

अधिकार सम्पन्न सडक सुरक्षा परिषद् बन्नै सकेन
भएका कानुन कार्यान्वयन फितलो
फाल्गुन २७, २०८० |पोषनाथ अधिकारी
एक वर्षमा भएका ३० हजार ५ सयभन्दा बढी सवारी दुर्घटनामा करिब २ हजार व्यक्तिको मृत्यु

धादिङ । नेपालमा दैनिक जसो सवारी दुर्घटना हुन्छन् । पछिल्ला दिनमा ठूला सवारी दुर्घटना हुने क्रम बढ्दो छ । दुर्घटनासँगै मानवीय क्षति पनि बढेको छ । गत वर्षको तथ्यांक हेर्ने हो भने पनि ३० हजार ५ सयभन्दा बढी सवारी दुर्घटनामा करिब २ हजारको मृत्यु भएको छ । यसरी दुर्घटना बढ्दा पनि न्यूनीकरणका लागि भने सरकारले आवश्यक नीति र नियामक बनाउन सकेको छैन । भएकै कानुन  कार्यान्वयनमा पनि आलटाल हुने गरेको छ । 

गत बुधबार भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख २१२१ नम्बरको बस धादिङको घाटबेसीमा दुर्घटना हुँदा १० जनाले ज्यान गुमाउनु पर्‍यो । रातभर सवारी चलाएर आएका चालक निदाएका कारण उक्त दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

गत आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने देशभर ३० हजार ५ सय २८ वटा दुर्घटनामा १ हजार ९ सय ६७ जनाले ज्यान गुमाएका छन् भने २३ हजारभन्दा बढी घाइते भए । अधिकांश ठूला दुर्घटना राति हुने गरेको तथ्यांक छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०४ मा लामो दूरीमा चल्ने सार्वजनिक सवारीमा कम्तीमा दुई जना चालक अनिवार्य राख्नुपर्ने व्यवस्था छ । 

प्रत्येक ६/६ घण्टामा चालक फेर्नुपर्ने व्यवस्था पनि छ । त्यति मात्र होइन, चार घण्टाभन्दा बढीको दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारीले प्रत्येक चार घण्टामा आधा घण्टा विश्राम लिनुपर्छ । तर कानुनी व्यवस्था कार्यान्वयन भएको छैन । 

कानुन बने पनि नियमन गर्ने सडक सुरक्षा परिषद् नबन्दा प्रभावकारी नभएको भन्दै २०७५ साल माघ २९ गते तत्कालीन सांसद डिला पन्त संग्रौलाले संसद्मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरिन् । प्रस्तावमाथि छलफलपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडक सुरक्षा परिषद् बनिसकेको र राष्ट्रिय यातायात नीति पनि तयारी अवस्थामा रहेको बताएका थिए । तर पाँच वर्ष बित्दा पनि न अधिकार सम्पन्न सडक सुरक्षा परिषद् बनेको छ न त नीति नै पारित भएको छ । 

अहिले महासेठ पुनः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकै नेतृत्वमा आएका छन् । आफूले पहिले संसद्लाई दिएको जवाफबारे उनी पक्कै जानकार होलान् । अब उनै मन्त्री महासेठले परिषद् गठन र नीति निर्माणमा चासो दिए दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा विज्ञको छ ।

सरकारी तथ्यांकअनुसार नेपालमा औसत दैनिक ४० वटा सडक दुर्घटना हुन्छन् । दुर्घटनामा बर्सेनि ३ हजारको मृत्यु हुने गरेको तथ्यांक छ । तर विश्व स्वास्थ्य संगठनले नेपालमा हुने सडक दुर्घटनामा बर्सेनि ५ हजारको ज्यान जाने गरेको जनाएको छ ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।