सप्तरीका शिवालयमा पनि भक्तजनको घुइँचो

फाल्गुन २५, २०८० |आरएन विश्वास
सप्तरीका शिवालयमा पनि भक्तजनको घुइँचो

सप्तरी । हिन्दु धर्मावलम्बीको महान् पर्व महाशिवरात्रिका अवसरमा आज (शुक्रबार) सप्तरीका शिवालयहरुमा पूजाका लागि बिहानदेखि भक्तजनको घुइँचो लागेको छ ।

बिहानैदेखि सप्तरीको महदेवास्थित अंकुरी महादेव मन्दिरमा जिल्लामा विभिन्न स्थानबाट सयौं दर्शनार्थी पूजाका लागि पुगेका छन् । यस्तै सदरमुकाम राजविराजस्थित शिव मन्दिरमा पनि दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ ।

अराध्यदेव महादेवको पूजादर्शन गर्न आउने भक्तजनहरुको सुविधाका लागि त्यहाँ स्थानीय युवाले फूल-प्रसाद नि:शुल्क वितरणसमेत गरिरहेका छन् । यसैगरी सप्तरीको शम्भुनाथ मन्दिर, भजनेश्वर महादेव मन्दिर, जलेश्वरनाथ मन्दिरसहित शिवालयमा पनि भक्तजनको घुइँचो लागेको छ ।

अराध्यदेव महादेवको आशीर्वाद पाउन आज अधिकांश हिन्दु धर्मावलम्बीले व्रतसमेत लिएका छन् । महाशिवरात्रिका अवसरमा अंकुरीनाथ, भजनेश्वर महादेव मन्दिरसहित शिवालयमा आज मेलासमेत लागेको छ ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।