बस दुर्घटना अपडेट : मृतकको संख्या ७ पुग्यो, १० जना घाइतेलाई काठमाडौं ल्याइँदै

फाल्गुन २३, २०८० |पोषनाथ अधिकारी
बस दुर्घटना अपडेट : मृतकको संख्या ७ पुग्यो, १० जना घाइतेलाई काठमाडौं ल्याइँदै

धादिङ । भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबस त्रिशूली नदीमा खस्दा ज्यान गुमाउनेको संख्या सात पुगेको छ । 

उद्धारमा खटिएका प्रहरीले जनाएअनुसार मृत्यु हुनेमा ६ पुरुष र १ जना महिला छन् । यस्तै उक्त दुर्घटनामा घाइते भएकाहरूमध्ये १० जनालाई उपचारका लागि काठमाडौं ल्याइँदै छ ।

दुर्घटनामा परेकाहरूको खोजी तथा उद्धार जारी छ । प्रहरीका अनुसार ३५ जनाको उद्धार भइसकेको छ । त्रिशूलीमा खसेको लु १ ख २१२१ नम्बरको उक्त बस यसअघि कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बताइएको थियो । तर, चलानी हेर्दा बस कपिलवस्तुबाट आएको नभई भैरहवाबाट आएको पाइएको छ ।

बस धादिङको गजुरीस्थित घाटबेशीबाट त्रिशूली नदीमा खसेको हो । 


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।