चाखलाग्दो छ वन्यजन्तु-मानिस बीचको मित्रता ! (भिडियो रिपोर्ट)

सुरक्षित छन् चुमनुब्री गाउँपालिकाका वन्यजन्तु
फाल्गुन २०, २०८० |भीमलाल श्रेष्ठ
चाखलाग्दो छ वन्यजन्तु-मानिस बीचको मित्रता ! (भिडियो रिपोर्ट)

गोरखा । आज विश्व वन्यजन्तु दिवस । वन विनाश र चोरी सिकारीका कारण वन्यजन्तुको संरक्षण निकै चुनौती बन्दै गएको छ । तर गोरखाको चुमनुब्री गाउँपालिकामा भने वर्षौंदेखि परम्परागत र कानुनी दुवै हिसाबले वन्यजन्तुको संरक्षण गरिँदै आएको छ । यहाँ संरक्षण मात्र होइन वन्यजन्तु र मानिस बीचको मित्रता पनि निकै चाखलाग्दो छ ।

गोरखाको चुमनुब्री गाउँपालिका ५, सेराङ्गको यो गुम्बा आसपासका जंगलमा पाइने मृग प्रजाति मध्येका यी झारलहरु यसरी नै गुम्बाका लामाहरुले नुन र दाना खुवाउँछन् । जंगलमा बस्ने भए पनि यी झारल गुम्बाकै खानामा रमाउँछन् । बौद्धधर्म परम्पराअनुसार काट्मार नगर्ने र मनास्लु संरक्षण क्षेत्रसमेत पर्ने भएकाले यहाँका वन्यजन्तुहरु सुरक्षित रहेको चुमनुब्री गाउँपालिका ५ का वडाध्यक्ष कालेन छेवाङ बताउँछन् ।

अहिंसा परम्परालाई यहाँको स्थानीय भाषामा स्याग्या भनिन्छ । अहिले गाउँपालिकाले पनि अहिंसाको यो परम्परालाई कानुनी मान्यता दिँदै स्याग्या कानुनसमेत बनाएको उपाध्यक्ष लक्ष्मी गुरुङको भनाइ छ ।

मनास्लु क्षेत्रमा दुई हजार १५० वटा झारल, ९५६ वटा नाउर, आठवटा कस्तूरी र चारवटा थार रहेको मनास्लु क्षेत्र संरक्षण आयोजनाले जनाएको छ ।


Image

भीमलाल श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका गोरखा संवाददाता हुन् ।