कर्णालीमा छोरी आत्मनिर्भर योजना २ वर्षदेखि चल्दै चलेन !

बालबालिकालाई प्रोत्साहन गर्ने प्रदेश सरकारका कार्यक्रम अलपत्र
फाल्गुन १८, २०८० |कमल पन्त
कर्णालीमा छोरी आत्मनिर्भर योजना २ वर्षदेखि चल्दै चलेन !

सुर्खेत । कर्णाली प्रदेश सरकारले पाँच वर्षअघि निकै महत्त्वका साथ ल्याएको ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम अलपत्र परेको छ । प्रदेश सरकारले २०७६ साउन १ यता जन्मिएका छोरीको स्थानीय तहमार्फत बैंक खातामा सुरुमा एक हजार र त्यसपछि मासिक पाँच सयका दरले २० वर्षसम्म रकम जम्मा गर्ने नीति लिएको थियो । छोरीलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित ल्याइएको कार्यक्रम पछिल्लो २ वर्षदेखि बन्द छ ।

छोरीमाथि हुने विभेदको अन्त्य, बालविवाह न्यूनीकरण र उच्च शिक्षाको ग्यारेन्टी गर्ने महत्त्वकांक्षी योजनासहित कर्णाली प्रदेश सरकारले ५ वर्षअघि ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’ कार्यक्रम सुरु गरेको थियो । २० वर्षसम्म मासिक ५ सय रुपैयाँका दरले एक परिवारका दुईजना छोरीको बैंक खातामा रकम जम्मा गरिदिने, उच्च शिक्षासम्म अध्ययन गर्न प्रेरित गर्ने र २० वर्ष नपुग्दै हुने विवाहलाई रोक्ने उद्देश्य कार्यक्रमले राखेको थियो ।

कार्यक्रमका लागि सुरुवाती वर्षमा सात करोड बजेट छुट्याएको प्रदेश सरकारले आर्थिक वर्ष ०७७/७८ मा १२ करोड ६० लाख, ०७८/७९ मा १६ करोड, ०७९/८० मा २० करोड छुट्याएको थियो । कार्यक्रम कार्यान्वयनका लागि करोडौं बजेट छुट्याए पनि पछिल्लो दुई वर्षदेखि सरकारले स्थानीय तहमा रकम पठाएको छैन ।

चालु आर्थिक वर्षमा पनि २५ करोड बजेट विनियोजन गरेको सरकारले अब, कार्यक्रमको मोडालिटी नै परिमार्जन गरेर मात्र नियमित कार्यान्वयन गर्ने प्रदेशका आन्तरिक मामिलामन्त्री कृष्णबहादुर जीसीले जनाए ।

प्रदेशसभा सदस्य घनश्याम भण्डारी भने कर्णालीका छोरीका लागि महत्त्वपूर्ण ठानिएको कार्यक्रमलाई सरकारले अपनत्व लिनुपर्छ भन्ने हेक्का नराख्दा कार्यक्रम रोकिएको बताउँछन् ।

तीन वर्षमा ४१ हजार ५७२ जना छोरीको बैंक खाता खोलिदिएको सरकारले कति रकम खर्च भयो भन्ने हिसाबसमेत राखेको छैन । कार्यविधिअनुसार २० वर्षको अवधिसम्म एउटा छोरीको खातामा सरकारले एक लाख २१ हजार रकम जम्मा गर्ने र २० वर्ष पुगेपछि ब्याजसहित करिब दुई लाखसम्म रकम पाउने व्यवस्था छ । तर २० वर्ष पूरा भए पनि उच्च शिक्षा पूरा नगरेमा, बालविवाह गरेमा, बीचमै पढाइ छाडेमा भने रकम झिक्न पाउने छैनन् ।

खातावालाको मृत्यु भएमा भने रकम निकाल्न सकिने व्यवस्था गरिएको छ । कडा रोग लागेमा वा गम्भीर प्रकृतिको अपांगता भएमा, अभिभावक वा संरक्षकको मृत्यु भई आर्थिक कठिनाइका कारण पढाइलाई निरन्तरता दिन नसक्ने अवस्थामा पनि २० वर्ष नपुग्दै रकम झिक्न पाउने कार्यविधि छ ।


Image

कमल पन्त

पन्त कान्तिपुर टीभीका सुर्खेत प्रतिनिधि हुन् ।