शालिनका बाबुको दाबी- छोरीको आत्महत्या होइन हत्या भयो, विद्यालयले प्रमाण नष्ट गर्‍यो

फाल्गुन १८, २०८० |कान्तिपुर टीभी संवाददाता
शालिनका बाबुको दाबी- छोरीको आत्महत्या होइन हत्या भयो, विद्यालयले प्रमाण नष्ट गर्‍यो

काठमाडौं । गोरखाको अजिरकोट गाउँपालिका ५, मुच्चोकका दीपेन्द्र पोखरेलले आफ्नी १४ वर्षीय छोरी शालिनको आत्महत्या नभइ हत्या भएको दाबी गरेका छन् । उनले आत्महत्या भनिएको घटना अनुसन्धान गरी दोषीलाई कारबाहीको मागसमेत गरेका छन् ।

चितवनको रत्ननगर नगरपालिका १० मा रहेको एकता शिशु निकेतन विद्यालयमा कक्षा ८ मा अध्ययनरत शालिन गत फागुन १२ गते सोही विद्यालयले सञ्चालन गरेको होस्टेलमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न शालिनका बुबा दीपेन्द्रले माग गरेका हुन् ।

दीपेन्द्र अहिले काठमाडौंमा छन् । उनको दाबीअनुसार घटना आत्महत्या नभइ बलात्कारपछि हत्या भएको हो । उनले भने, ‘म काठमाडौंमा भएको बेला घटना भएको जानकारी विद्यालयबाट आयो । म त्यहाँ पुगेपछि मात्र प्रक्रिया अगाडि बढाउन विद्यालय प्रशासनलाई आग्रह गरिए पनि त्यहाँ पुग्दासम्म प्रमाण नष्ट गराउने मनसायले काम गरियो ।

घटनाको ४ दिनपछि मात्र प्रहरीले जाहेरी लिएको र शालिनको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पोस्टमार्टम गराउन आफूले शववाहनमा ल्याएको उनले बताए । दीपेन्द्रले शव पोस्टमार्टम भए पनि अहिलेसम्म नबुझेको जानकारी दिए ।

दीपेन्द्रको किटानी जाहेरीपछि प्रहरीले विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, सहायक प्रधानाध्यापक किरणबहादुर अधिकारी र छात्रावासका सुपरीवेक्षक कमल शर्मालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार यसको थप अनुसन्धान जारी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.