‘मरेको छैन न्याय पाउने आशा’

माघ १७, २०८० |हरिश्चन्द्र बाग
‘मरेको छैन न्याय पाउने आशा’

कञ्चनपुर । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति नेपालको नेतृत्वमा मिटरब्याज पीडितहरुले पूर्व र पश्चिमबाट मंगलबार एकैपटक पैदल यात्रासहितको आन्दोलन सुरु गरेका छन् ।

पूर्व काँकडभिट्टाबाट आन्दोलित पीडितहरुको टोली मोरङको उर्लाबारी पुगेको छ भने पश्चिम गड्डाचौकीबाट आन्दोलित पीडितहरुको टोली कैलालीको चौमाला पुगेको छ । विगतका आन्दोलनबाट उचित न्याय नपाएपछि पुनः काठमाडौं केन्द्रित आन्दोलनका लागि न्याय मार्चमा रहेका उनीहरु न्याय नपाउँदासम्म घर नफर्किने अडानमा छन् ।

नवलपरासीको सुस्ताका रामशुभम मुसहर ३ वर्षदेखि देशभरका मिटरब्याज पीडितहरुलाई संगठित गर्न केन्द्रित आन्दोलनका सुरुवातकर्ता पनि हुन् । अझै न्याय नपाएको भन्दै पुनः सुरु गरिएको आन्दोलनमा छन् ।

‘हामीले साढे ५ लाखको २८ लाख भुक्तानी दियौं । जमिन फिर्ता चाहियो । जमिन मिल्दैन । त्यसैले आन्दोलनमा आयौं । अब मर्नु परे पनि न्याय नपाउँदासम्म घर फर्किदैनौं,’ कपिलवस्तुकी मिटरब्याजपीडित समसुनी साह विश्वस्त सुनिन्छिन् ।

मिटरब्याजपीडितहरुले यसअघि गरेको आन्दोलनलाई सम्बोधन गर्दै सरकारले उजुरी लिन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको थियो । प्रशासनले उजुरी लिएपनि पीडितहरुले न्याय पाउन सकेका छैनन् ।

मध्य माघको कठ्यांग्रिँदो जाडोसँगै आन्दोलनरत पीडितहरुको लामो दूरीको पैदलयात्रा र अव्यवस्थित बसाइ देख्दै कहालीलाग्दो जो छ । कानुनी राज्यमा पीडितहरुले यसरी बारम्बार आन्दोलित हुनुपर्ने स्थिति आउनु किमार्थ राम्रो होइन ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।