तराई/मधेशमा आच्छु...

शीतलहर र चिसोले जनजीवन कष्टकर
बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित
समस्यामा दैनिक काम गरी गुजारा गर्ने मजदुर
माघ १५, २०८० |राजेश्वर पाण्डे
तराई/मधेशमा आच्छु...

रौतहट । शीतलहर र अत्यधिक चिसोका कारण मधेश प्रदेशमा जनजीवन कष्टकर बनेको छ । पुस अन्तिम सातासम्म खासै जाडोको अनुभव नभएको तराईमा अहिले एक्कासि चलेको शीतलहर र चिसोले दैनिक काम गरी गुजारा गर्ने मजदुर किसानलाई सास्ती भएको छ ।

पश्चिमी वायुसँगै बढेको शीतलहरका कारण यतिखेर तराई क्षेत्रको जनजीवन प्रभावित बनेको छ । बिहानदेखि बेलुकासम्मै बाक्लो हुस्सु लागेपछि सर्वसाधारणको दैनिकी कष्टकर बनेको हो । कठ्यांग्रिने चिसोको कारण मधेश प्रदेशका सरकारी कार्यालयमा सेवाग्राही नआउँदा सुनसान देखिन्छन् । बढ्दो चिसोले खासगरी बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् भने विद्यालयमा पनि विद्यार्थी घटेको नमुना मावि रौतहटका शिक्षक नन्दु साह बताउँछन् ।

चिसोका कारण गाउँबाट बजार आउने मानिस घटेपछि अहिले बजार क्षेत्रको व्यापारसमेत ओरालो लागेको छ । मजदुरहरुलाई पनि चिसोले प्रभावित बनाएको छ । जसको असर उनीहरुको दैनिक गुजारामा परेको नगर उद्योग वाणिज्य संघ गरुडाका अध्यक्ष सतिश साहको भनाइ छ ।

चिसोको असर सडकमा चल्ने सवारी साधनमा समेत देखिएको छ । सडकमा सवारीसाधन कम गुडेका छन् । स्थानीय बासिन्दा आगो तापेर चिसोबाट जोगिने प्रयास गरिरहेका छन् । शीतलहरका कारण समस्यामा परेका मजदुर, दलित, विपन्न परिवारलगायत अन्य प्रभावितलाई चिसोबाट जोगाउन उचित व्यवस्थापन गर्न आवश्यक देखिन्छ ।

यो पनि...

चिसो बढ्दा विपन्न र मजदुर वर्गको दैनिकी कष्टकर


Image

राजेश्वर पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजन रौतहट संवाददाता हुन् ।