कहिले जोडिन्छ हुम्ला प्रदेश राजधानीसँग ?

माघ १३, २०८० |जनकबहादुर शाही
कहिले जोडिन्छ हुम्ला प्रदेश राजधानीसँग ?

हुम्ला । अहिलेसम्म सडक यातायात सुविधा नभएको हुम्ला सदरमुकाम सिमकोटको आफ्नै प्रदेशको राजधानी सुर्खेतसँग सम्बन्ध अझै जोडिन सकेको छैन । यातायातको एक मात्र विकल्प हवाई उडान भएकाले प्रदेश राजधानी सुर्खेतसँग सोझै उडान नहुँदा स्थानीयलाई आउजाउमा सास्ती हुने गरेको छ । कहिले कहीँ अक्कल झुक्कल उडान हुने सिमकोट सुर्खेतका लागि यातायातमा हवाईबाहेक अर्को विकल्प छैन । स्थानीयलाई नेपालगन्ज भएर सुर्खेत जानुपर्ने बाध्यता छ । हामी हुम्लीले कहिले सम्म आफ्नो राजधानी जान अर्को प्रदेश भएर जानु पर्ने हो नागरिक समाजका अगुवा गणेश महतले बताए ।

कुनै पनि हवाई कम्पनीले सुर्खेत-सिमकोट नियमित यात्रु उडान नगर्दा प्रदेश राजधानीसँग हुम्ला प्रत्यक्ष सम्पर्क नजोडिएको हो । निजी हवाई कम्पनी र सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले नेपालगन्जबाट मात्र यात्रु उडान गर्ने गरेकाले अहिले सम्म हुम्लाको सम्बन्ध कर्णाली प्रदेश राजधानीसँग जोड्न नसकिएको महतले बताए ।

२०७५ सालमा कर्णाली प्रदेशका तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सीता एयरको जहाजबाट डोल्पाको जुफाल र सिमकोट पुगेर नियमित यात्रु उडानको सुरुआत गरेको घोषण गरे । तर त्यो उडान घोषणा मै सीमित रह्यो हवाई कम्पनीले यात्रु उडान कहिले पनि गरेन । प्रदेशको केन्द्रसँग हुम्ला जिल्ला सदरमुकाम जोड्न सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले त वास्ता पनि गरेको छैन । यसका लागि संघ, प्रदेश र स्थानीय तिनै तहका सरकारले ध्यान दिनु पर्ने र नियमित उडान राख्नु पर्ने स्थानीयले माग गरेका छन् ।

हुम्लाको सदरमुकाम सिमकोट सडक सञ्जालसँग जोडिएको छैन । जोडिन अझै केही समय लाग्ने अवस्था छ । सडक सञ्जालमा नजोडिएकाले यातायातमा हवाईबाहेक अर्को विकल्प छैन । स्थानीयलाई आफ्नै प्रदेशको राजधानी सुर्खेत जान पनि लुम्बिनी प्रदेशको नेपालगन्ज भएर जानुपर्ने बाध्यता छ । निर्वाचित जनप्रतिनिधि कर्मचारी र स्थानीय जो गए पनि सुर्खेतमा काम पर्दा होस या गोष्ठी बैठकमा सहभागी हुन होस नेपालगन्ज भएरै आउजाउ गर्ने गरेका छन् ।

कर्णालीमा सरकारको स्वामित्व भएको नेपाल वायु सेवा निगमलगायत निजी हवाई कम्पनीका तारा, समिट र सीता एयरका जहाजले उडान भर्दै आएका छन् । हवाई कम्पनीले नेपालगन्जबाट नियमित यात्रु र कार्गो उडान गर्ने गरेको भए पनि सुर्खेतबाट सिमकोटका लागि नियमित उडान नहुँदा हुम्लीलाई प्रदेशको राजधानी जान समस्या भएको सिमकोटका स्थानीय लोकेन्द्र रोकायाले बताए । 


Image

जनकबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका हुम्ला संवाददाता हुन् ।