अति विपन्न परिवारलाई सुरक्षित आवास योजना

अग्निसाइर कृष्णासवरण गाउँपालिकामा ४१ परिवारका लागि नयाँ घर बन्दै
माघ ५, २०८० |आरएन विश्वास
अति विपन्न परिवारलाई सुरक्षित आवास योजना

सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकाका अति गरिब तथा विपन्न परिवारहरुलाई कठ्यांग्रिँदो जाडोमा सुरक्षित आवास योजनामार्फत नयाँ घर बन्ने भएको छ । यसका लागि पालिकाले दातृनिकायको सहयोगमा निर्माणको काम गरिरहेका छन् ।

सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका १ की सावित्रीदेवी सदाको फुसको घर वर्षा र शीतलहर थेग्ने अवस्थामा थिएन । छिमेकी सीतादेवी मगरको घर पनि गत वर्ष आएको बाढीमा बगेपछि उनी जसोतसो अर्काको घरमा बस्दै आएकी थिइन् । तर अहिले गाउँपालिकाले ल्याएको सुरक्षित आवास योजनाअन्तर्गत सदा र मगरसँगै ४१ परिवारका लागि भान्साकोठासहित तीनकोठे नयाँ घर निर्माण भइरहँदा उनीहरु दंग छन् । ‘पानी पर्दा, हावा चल्दा भत्किन्छ कि भन्ने खालको झुप्रो घर छ । अब नयाँ घर पाउने भएपछि खुसी छु,’ सावित्रीदेवीले भनिन् ।

अग्निसाइर कृष्णासवर गाउँपालिकाले स्थानीय महुली सामुदायिक विकास केन्द्र र यूएन ह्याबिट्याड नेपालको त्रिपक्षीय सहयोगमा भूमिहीन अति गरिब, विपन्न, एकल महिला तथा दैवीप्रकोपमा परी घरबारविहीन भएकाहरुलाई नयाँ घर निर्माणका लागि सुरक्षित आवास कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

‘जसको घर बन्दै छ । उहाँहरुको पनि रकम लगानी भएको छ । जस्तो उहाँहरुको श्रमदान पनि यहाँ जोडिएको छ,’ अग्निसाइर कृष्णासवरन गाउँपालिका सप्तरीका प्रमुख प्रशासकीय अधिकृत अरविन्द चौधरीले भने ।

यता घर निर्माण भएका ठाउँहरुमा बाटोसहित खानेपानीको व्यवस्था र भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपत्रको व्यवस्थाको काम हुनुपर्ने स्थानीयको भनाइ छ । ‘ऐलानी जग्गा नै हो । आफ्नो लालपुर्जा केही छैन । हामीलाई यहाँ पानीको भने एकदमै अभाव छ,’ स्थानीय सुक्ता राईले भनिन् ।

अग्निसाई कृष्णासवरन गाउँपालिकाले सुरक्षित आवास कार्यक्रम वार्षिक कार्यक्रममै समावेश गरेकाले आगामी दिनमा थप यस्ता पीडितहरुको पहिचान गरी नयाँ घर बस्ती निर्माणतर्फ पालिका सक्रिय रहने जनाएको छ ।

तर यो क्रममा कुनै किसिमको भेदभाव नहोस् भन्नेतर्फ जनप्रतिनिधि र दातृ निकायसमेत चनाखो रहनु जरुरी छ ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।