माघीमा झुम्यो मुक्त कमैया बस्ती

माघ १, २०८० |कमल पन्थी
माघीमा झुम्यो मुक्त कमैया बस्ती

बर्दिया । यस वर्ष माघी संक्रान्तिको अवसरमा बर्दियाका थारु गाउँघर र बस्ती निकै रमाएको छ । विशेषगरी थारु समुदायको ठूलो पर्व भएका कारण उत्साह र उमंगले माघी मनाउँदै आएका छन् । मुक्तकमैया बस्तीमा भने पराधीनबाट मुक्त भएकाले स्वतन्त्ररुपमा माघीलाई विशेष उमंग साथ मनाउन थालेका छन् ।

०५७ साउन २ गते सरकारले मुक्त घोषणा गरेका पूर्वकमैयाबस्ती यतिखेर माघीको रौनक छाएको छ । ५१ प्रतिशत थारु समुदाय बस्दै आएका बर्दियाका मुक्त कमैया बस्ती र गाउँघर बाहिर काममा गएका फर्किसकेका छन् । विगतमा जमिनदारका घरमा स्वतन्त्र रुपमा माघी मनाउन नपाएकाले सम्झना गर्दे मुक्त कमैया बस्ती उमंगका साथ गीत र नाचले घन्किएको छ ।

‘माघी धुमधामले परिवारसँग मनाउन थालेका छौं । छोराछोरी पढ्न थालेका छन् । कमाउन थालेका छन् । हामी ढिकरीलगायतका पकवान खाएर रमाइलो गर्छौं,’ बारबर्दिया नगरपालिका १, लंगहवा मुक्तकमैया बस्तीकी कान्छी थारूले भनिन् ।

थारु समुदायको नयाँ वर्षको सुरुवात र धार्मिक महत्त्वको चाड हो माघी । माघीबाट थारु समुदायको नयाँ वर्षको शुरुवात हुने भएकाले वर्षभरिका लागि बडघर, चौकीदार, स्वंयसेवकलगायत गाउँका अगुवा चयन गर्ने गरिन्छ । हिजो बन्धकको जिन्दगी थियो, अहिले स्वतन्त्र भएर घर परिवारसँग पर्व मनाउँदै आएको बारबर्दियाका पूर्वमुक्त कमैया सुमन थारुको भनाइ छ ।

२०५७ सालअघि माघीका समय छोरी बेटीलाई साहु महाजनका घर कमलरी, बुक्रेनी र कमैया राख्ने निधो हुन्थ्यो । सरकारले ०५७ साउन २ गते कमैया प्रथा अन्त्य गरेको घोषणा पछि अहिले यो परम्परा हटेको छ । 


Image

कमल पन्थी

पन्थी कान्तिपुर टीभीका बर्दिया संवाददाता हुन् ।