नेपालगन्जमा सहकारी पीडितको बिचल्ली, प्रहरीमा उजुरी दिने क्रम बढ्दो

१७ हजार बचतकर्ताको रकम जोखिममा
पुस २९, २०८० |जे पाण्डे
नेपालगन्जमा सहकारी पीडितको बिचल्ली, प्रहरीमा उजुरी दिने क्रम बढ्दो

नेपालगन्ज । नेपालगनजमा सहकारीबाट ठगिएकाहरु प्रहरीमा उजुरी दिन जाने क्रम बढेको छ । यो बीचमा सहकारी ठगीमा संलग्नविरुद्ध अनुसन्धान गरी मुद्दा चलाउन र सजाय तोक्न प्रहरी र अदालतले तदारुकता देखाएका छन् । अदालतले अहिलेसम्म १९ जनालाई कसुरदार ठहर गरे पनि बाँकेका १७ हजारभन्दा बढी बचतकर्ताको रकम जोखिममा परेको छ ।

नेपालगन्जकी बचतकर्ता सुनिता धोबीले भनिन्, ‘पैसा अभावमा उपचार गर्न नसक्दा छोरीको मृत्यु भयो । कपडा धोइधोइ जम्मा गरेको रकम हो । ५ वर्षदेखि धाइरहेका छौँ, साँवा ब्याजसहित पैसा फिर्ता चाहिन्छ ।’

बाँकेको सीडीओ कार्यालय र अदालत नजिकैको यो सहकारीले सुनिता जस्ता धेरै बचतकर्ताको रकम अपचलन गरेको छ । सहकारी घोटालाका धेरै मुद्दामध्ये पहिलोपटक जिल्ला अदालत बाँकेले सहकारी वित्तीय संस्था लिमिटेड सञ्चालक समितिका तीन जना अध्यक्षसहित १९ जनाले १२ हजारभन्दा बढी निक्षेपकर्ताको ३५ करोड ८५ लाख रुपैयाँ अपचलन गरी ठगी गरेको ठहर त गर्‍यो तर निक्षेपकर्ताले रकम कहिले फिर्ता पाउने हुन् टुङ्गो छैन ।

डुडुवा गाउँपालिका, बाँकेका निक्षेपकर्ता कैलाशनाथ कलवारले भने, ‘चार वर्षदेखि हामी लडिरहेका छौं । अब आज फैसला आएको छ । फैसलाले त हामी खुसी छौं तर हामीले जग्गा बेचेर राखेको पैसा कहिले उठ्ने अझै निश्चित छैन । काम धन्दा हाम्रो सबै बन्द भइसकेको छ ।’

बचतकर्ताको ४३ करोड २ लाख रुपैयाँ अपचलन गरेको अभियोगमा सहकारी वित्तीय विकास संस्थाका अध्यक्ष, सञ्चालक समितिका पदाधिकारी र कर्मचारीसहित ४१ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय बााकेले २०७६ असोज २८ गते मुद्दा दर्ता गर्‍यो । घोटाला प्रकरण बाहिरिएपछि २०७६ जेठमा बन्द भएको सहकारी हालसम्म पनि खुलेको छैन । अदालतले गृह प्रशासन, राष्ट्र बैंक, लुम्बिनी प्रदेश सरकारको सहकारी विभागका रजिष्ट्रारसहितको नयाा सञ्चालक समिति गठन गरि अपचलन भएको रकम खोजेर पीडितलाई भुक्तानी दिन आदेश गरेको छ । तर आदेश कार्यान्वयनमा सरोकारवालाहरु गम्भीर देखिएका छैनन् ।

न्यायाधिश इन्द्रबहादुर कठाएको इजलासले एउटा सहकारीका सञ्चालकहरुलाई सजाय तोक्न नपाउदै गितेन्द्रबाबु राईलगायतले सञ्चालन गरेको समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडका ९४ र शिवशिखर बहुउद्देश्यीय सहकारी कोहलपुरका ३ हजार ४ सय ५६ जना बचतकर्ताले सञ्चालकले साढे ५५ करोड रुपैयाा अपचलन गरेको भन्दै उजुरी दिए । प्रहरीले यी सहकारीका सञ्चालक समितिका १७ जनामध्ये ४ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले भने, ‘ शिवशिखर र समानता भन्ने सहकारीबाट ठगियौँ भनेर ३ हजार ५५० बचतकर्ताहरूले जाहेरी दिइसकेको अवस्था छ । उहाँहरूको जाहेरीअनुसार करिब ५५ करोड ५३ लाख जतिको बिगो रकम बराबरको निवेदन आइसकेको छ । र अनुसन्धानको क्रम जारी छ।’ 


Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।