शीतलहरले तराईको जनजीवन प्रभावित (तस्बिरहरू)

पुस २५, २०८० |आरएन विश्वास
शीतलहरले तराईको जनजीवन प्रभावित (तस्बिरहरू)

सप्तरी । सप्तरी जिल्लामा लगातार शीतलहर बढ्दै गए पनि गरिब विपन्नलाई यसबाट बचाउन स्थानीय सरकार र प्रशासनले गम्भीरता देखाउन सकेको छैन ।

पछिल्लो चार दिनदेखि पश्चिमबाट चल्ने सिरेटो हावा र बाक्लो हुस्सुका साथै शीतलहरले चिसो बढेपछि मधेश प्रदेशका सप्तरी, सिरहासहितका जिल्लाको जनजीवन प्रभावित भएको छ ।

खासगरेर बिहान र बेलुकी चल्ने शीतलरले विद्यालय जाने बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित भएका हुन् । ठण्डी छल्न स्थानीय सरकारहरुले आगो ताप्न दाउराको व्यवस्थासँगै गरिब विपन्नलाई न्यानो लुगासमेत उपलब्ध नगराएको स्थानीय अगुवाको गुनासो छ ।

राम्ररी घाम नलाग्दा बढ्दै गएको चिसोले ग्रामीण क्षेत्रका गरिब तथा विपन्न वर्गलाई दैनिक गुजारा चलाउन सकस भइरहेको छ । दैनिक मजदुरी गर्ने वर्गलाई पनि कामको समस्या भएको छ ।

यस्तै चिसोका कारण बिरामी भई सप्तरीका अस्पतालहरुमा उपचार गराउँन आउनेहरुको संख्या पनि बढ्दै गएको छ ।

बाक्लो हुस्सुले गर्दा सवारीसाधन दुर्घटनाको जोखिम बढाएको छ भने हवाई सेवा पनि प्रभावित भइरहेको छ । यता स्थानीय तह र जिल्ला दैवी प्रकोप उद्धार तथा राहत व्यवस्थापन केन्द्रले यस सम्बन्धमा चाँडै छलफल गरी आवश्यक निर्णय लिने जनाएका छन् । 


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।