पूर्वी पहाडमा चासोक तङ्नामको उल्लास

पुस १०, २०८० |लक्ष्मी गौतम
पूर्वी पहाडमा चासोक तङ्नामको उल्लास

पाँचथर । आज उधौली पर्व । विशेष गरी किराँत समुदायको बाहुल्य रहेका जिल्लामा उल्लासमय तरिकाले मनाइँदैछ ।

विशेष गरी किराँत समुदाय अन्तर्गतका लिम्बू जातीले यो पर्वलाई चासोक तङ्नाम अर्थात न्वागी पर्वका नामले मनाँउछन् ।

चासोक तङ्नाममा नयाँ अन्न चढाएर न्वागी खाने चलन छ । योसँगै मौलिक र सांस्कृतिक कार्यक्रम गर्दै यो पर्व मनाइन्छ ।

विशेषतः यो पर्व पूर्वी पहाडमा बाहुल्य रहेका राई, लिम्बू, सुनार र याक्खा जातिले मंसिर पूर्णिमाको दिनलाई चासोक तङ्नाम अर्थात उधौली पर्वका नामले पुकार्दै मनाउने चलन छ ।

आजै हिन्दु धर्मावलम्बीले धान्य पूर्णिमाको रुपमा गोठ पूजा गर्ने चलन छ । प्रकृति पुजकका रुपमा चिनाउने किराँत समुदायले आजकै दिन नयाँ अन्न चढाएर न्वागी खाने गर्दछन् । चासोक तङ्नामका अवसरमा फिदिमस्थित सुम्हालुङ मन्दिर, सिलौती, लब्रेकुटीलगायतका स्थलहरुमा पूजा आराधनासहित नयाँ अन्न विधिवत रुपमा चढाएर न्वागी पूजा गर्नेको भिड लागेको छ ।

यस पर्वका अवसरमा पाँचथर, ताप्लेजुङ, इलाम, धनकुटा र तेह्रथुमसहित राजधानीका काठमाडौं, ललितपुर र आदिबासी जनजातिको बसोबास रहेका विदेशी भूभागमासमेत न्वागी पूजा, चियापान, सांस्कृतिक प्रतियोगिता, झाँकी प्रदर्शन र वनभोज खाने कार्यक्रम आयोजना गरिन्छन् ।


Image

लक्ष्मी गौतम

गौतम कान्तिपुर टेलिभिजनका पाँचथरका संवाददाता हुन् ।