राष्ट्रिय सडक सञ्जालमा जोडियो दक्षिणी हुम्ला

पुस ८, २०८० |जनकबहादुर शाही
राष्ट्रिय सडक सञ्जालमा जोडियो दक्षिणी हुम्ला

हुम्ला । सलिसल्लामा बेलिब्रिज जडान भएसंगै दक्षिणी हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ । चंखेली र सर्केगाड गाउँपालिकाको सिमाना सलिसल्लाको कर्णाली नदीमाथि बेलिब्रिज निर्माण हुँदा दक्षिणी हुम्लाका चार गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएका हुन् ।

गत जेठदेखि सुरु भई कात्तिकमा सम्मन्न भएको बेलिब्रिज शुक्रबार एक कार्यक्रमबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले उद्घाटन गरेका छन् ।

कर्णाली नदीमा बेलिब्रिज नहुँदा सर्केगाड गाउँपालिकाको वडा नं. १ जैर, अदानचुली र ताँजाकोट गाउँपालिका राष्ट्रिय सडक सञ्जालसंग जोडिए पनि यसअघि सलिसल्लाको कर्णाली नदी पारिसम्म मात्र यातायातका साधन आउने गर्थे । सलिसल्लाको कर्णाली नदीमाथि ४८.७६८ मिटर लम्बाई र ४.२० मिटर चौडा बेलिब्रिज बनेसँगै चंखेली र सर्केगाड गाउँपालिका पनि राष्ट्रिय सडक सञ्जालमा जोडिएका हुन् । बेलिब्रिज १ करोड ८६ लाख ७२ हजार ४६० रुपैयाँमा निर्माण कार्य सम्पन्न गर्ने गरी २०८० जेठ १३ गते कङ्ग्री निर्माण सेवासँग हिल्सा–सिमकोट सडक आयोजनाले सम्झौता गरेको थियो ।

बेलिब्रिज उद्घाटनका लागि सलिसल्ला पुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाले समयमै पुल निर्माण भएका कारण यसै आर्थिक वर्षमा हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने नेपाल सरकारको लक्ष्यलाई सघाउ पुर्‍याएको बताए । राष्ट्रिय सडक सञ्जाल नजोडिएको भनेर हुम्ला जिल्लाको नाम आउने गरेकोमा आगामी असार मसान्तसम्म हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसंग जोडेपछि यो उपमा पनि हट्ने उनले बताए ।

सदरमुकाम सिमकोटलाई सडक सञ्जालमा जोड्नका लागि चुनौती रहेको छारे क्षेत्रको चट्टानी भिरमा नेपाली सेनाले काम गरिरहेको र खार्पुमा रहेको दोजाम कर्णाली नदीमा पनि आउँदो बैशाखसम्म बेलिब्रिज निर्माण सम्पन्न हुने गरी काम अगाडि बढेकाले वर्तमान सरकारले विकासलाई प्राथमिकता दिएर काम गरिरहेको कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले बताए ।

शुक्रबार पुलको विधिवत उद्घाटन भए पनि सो पुलमा ३ हप्ता अगाडिदेखि यातायातका साधन सञ्चालन भइसकेका थिए ।


Image

जनकबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका हुम्ला संवाददाता हुन् ।